aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

इन्चार्जलाई मासिक ८० हजार घूस खुवाएर प्रहरी–जनप्रतिनिधिकै मिलेमतोमा चुरे दोहन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ साउन २०७६
इन्चार्जलाई मासिक ८० हजार घूस खुवाएर प्रहरी–जनप्रतिनिधिकै मिलेमतोमा चुरे दोहन

काँकडभिट्टा । सरकारले प्रतिबन्ध लगाएको चुरे क्षेत्रमा प्रहरी र स्थानीय जनप्रतिनिधिको मिलेमतोमा उत्खनन भइरहेको खुलासा भएको छ । प्रतिबन्धको समयमा समेत मेचीनगर १ मा पर्ने नेपाल–भारत सीमाको मेची नदीबाट ढुंगा, गिट्टी र बालुवाको उत्खनन तीव्र भइरहेको पाइएको हो ।
सरकारले असार, साउन र भदौ तीन महिना नदीजन्य सामग्रीको उत्खननमा रोक लगाएको थियो । तर सरकारी प्रतिबन्धको बेवास्ता गर्दै नदीजन्य वस्तुको चरम उत्खनन भइरहेको छ ।
ढुंगा कारोबारमा संलग्नले स्थानीय प्रहरी चौकीका इन्चार्जलाई मासिक ८० हजार घूस बुझाउने गरेको एक स्थानीयले नाम नछाप्ने सर्तमा जानकारी दिए । तर प्रहरी इन्चार्ज भरतकुमार थापाले आफूले कुनै रकम नलिएको दाबी गरेका छन् । ‘यो अनावश्यक आरोप हो, प्रहरीले पैसा लिएको छैन ।’
मेचीनगर नगरपालिकाले यो क्षेत्रमा लामो समयदेखि नदी उत्खननमा रोक लगाएको थियो । चुरे क्षेत्रमा उत्खनन गर्न नमिल्ने भएकाले रोक लगाइएको नगर कार्यपालिका सदस्य तथा वन तथा वातावरण समितिका संयोजक टीकराम मंग्रातीले जनाए । उनले नगरपालिकाको प्रतिबन्धको प्रवाह नगरी उत्खनन भइरहेको पाइएकाले कडाइ सुरु गरिएको जनाए । भने, ‘गलत भएको हो, अब निगरानी बढाएका छौं ।’
अवैध ढंगबाट उत्खनन भए पनि वडाध्यक्ष पासाङ तामाङले आँखा चिम्लिएर बसेको आरोप स्थानीयको छ । तर तामाङले भने पटक पटक ट्याक्टर नियन्त्रण लिएर उत्खनन रोक्ने प्रयत्न गर्दा पनि तस्करीमा संलग्नले अटेर गरेको जनाए ।
मेचीनगर १ को यो चुरे क्षेत्र हो । चुरेमा भइरहेको चरम दोहनबारे स्थानीयवासीले पटकपटक सरोकारवाला निकायको ध्यानाकर्षण गरेपनि बेवास्ता गरिँदै आएको थियो । चुरे दोहनले भविष्यमा गाउँ नै खतरामा पर्न सक्ने स्थानीय प्रेम थापाले जनाए ।
तिरिङका स्थानीयवासीका अनुसार इलामको रोङ गाउँपालिका ६ मा पर्ने दुधेचौरी क्षेत्रबाट दैनिक सय बढी ट्याक्टरमा ढुंगा लोड हुँदै आएको छ । लोड गरेको ढुंगा तिरिङखोला बगरमा लगेर संकलन गरिएको छ । एक स्थानीयका अनुसार ढुंगा संकलनमा अधिकांश ट्याक्टरको प्रयोग हुने गर्छ ।
ती ट्याक्टर सबै कृषि प्रयोजनका लागि छुटमा आयातित छन् । ‘धान रोपाइँ सकिएकाले अधिकांश ट्याक्टर अहिले ढुंगा ओसार्न प्रयोग भएका छन्,’ एक स्थानीयले भने । खासमा कृषि कर्मका लागि आयातित ट्याक्टरको प्रयोग अन्य काममा गर्न मिल्दैन ।
कतिपय स्थानमा एस्काभेटरको समेत प्रयोग भएको पाइएको छ । जब कि सम्बद्ध निकायको इजाजतबिना एस्काभेटर प्रयोग गर्न मिल्दैन ।
जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले चार दिनअघि बसेको जिल्ला अनुगमन समिति र सुरक्षा निकायको बैठकले उत्खनन् गरिएका ढुंगाहरूबारे बुझ्न सबै स्थानीय सरकारलाई निर्देशन दिइएको बताए । उनले भने, ‘गलत ढंगले उत्खनन भएको पाइए ढुंगा र सवारी सोझै जफत गर्न निर्देशन दिएका छौं ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस