तीन दशकदेखि कर तथा राजस्व क्षेत्रमा वकालत गर्दै आएका तुलसीराम काफ्ले राजनीतिलाई व्यापार बनाएकोमा चिन्तित छन् । उनले नेपालमा राजनीतिलाई व्यापारीकरण गरेको भन्दै राजनीति दलका नेताले बारम्बार गल्ति गरिरहदा पनि उनीहरूलाई नै शासन व्यवस्थामा पुर्याउने प्रचलनको विरोध गर्दै आएका छन् । उनले आसन्न आमनिर्वाचनमा झापाको क्षेत्र नं ५ बाट पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाट चुनाव लड्ने तयारीमा रहेका छन् । उनै काफ्लेसँग आर्थिक न्युज डटकमकी रिता राउतले अर्थ राजनीतिक संवाद गरेकी छिन् । प्रस्तुत छ, सोही संवादको सम्पादित अंश:
यहाँ एक कानुन व्यवसायी हुनुहुन्छ । न्यायालयका क्षेत्रमा सबैभन्दा धेरै भ्रष्टाचार विकृति हुन्छ भन्छन् नि ?
न्यायालयमा भ्रष्टाचार छैन त्यहाँ भ्रष्टाचार हुँदैन भन्ने कुरालाई म स्विकार्न सक्दिन । अन्य क्षेत्रमा भएजस्तै न्यायपालिकामा पनि भ्रष्टाचार भएको छैन भन्न सकिँदैन । न्यायपालिकामा पनि व्यापक भ्रष्टाचार रहेको छ । न्यायाधीश नियुक्तिदेखि मुद्दा फैसलाका क्रममा समेत न्यायापालिकामा भ्रष्टाचार हुने गरेको छ । न्यायपालिकाको भ्रष्टाचारमा न्यायाधीश कर्मचारी मात्रै होइन राजनीतिक नेतृत्व समेत जिम्मेवार रहेका छन् । अहिलेसम्म भएका मुद्दा फैसलाबारे अध्ययन गर्ने हो भने कुनै न कुनै प्रकारले गडबड गरेको पाइन्छ । आर्थिक लेनदेन भएको पाइन्छ । न्यायालयको भ्रष्टाचारलाई न्यूनीकरण गर्दै लैजानु पर्छ । न्यायालयमा भएको भ्रष्टाचारका कारण हामी जस्तो कानुन व्यवसायीलाई लाजमर्दो विषय बनेको छ ।
आर्थिक तथा राजस्वसँग सम्बन्धित मुद्दाका विषयमा लामो समयदेखि वकालत गर्दै आउनु तपाईँ पछिल्लो समय राजनीतिमा लाग्दै हुनुहुन्छ भन्ने सुनिन्छ नि ?
म राजनीतिमा आउनु रहर होइन बाध्यता हो । जब जनताले चुनेका नेताले राम्रोसँग काम गर्दैन । बेइमानी पूर्वक काम गर्छ, जनतालाई झुक्नु पर्ने जो नेताले बनाएका छन् उनीहरूलाई सबक सिकाउनका लागि म राजनीतिमा आउन लागेको हो । जो नेताहरूले राजनीतिलाई पेसा बनाएका छन् उनीहरूलाई हामी जस्तो स्वतन्त्रले पाठ सिकाउने हो ।
मैले स्वतन्त्रबाट चुनाव जिते भने सरकारले दिने सेवा सुविधा भत्ता केही पनि लिँदिन । कुनै पनि सुविधा मलाई चाहिँदैन । किन भने म मेरो लगानी राजनीतिमा आउन लागेको होइन । देश र जनताको लागि आउन लागेको हो । अहिले नेतृत्व गर्ने नेताहरूले कसले सरकारले दिने सेवा सुविधा नलिएका छन् ? छैनन नि । सबैले लिएका छन् । तर, म जनतालाई भत्ता, सेवा सुविधा दिनका लागि राजनीतिमा आएको छु ।
संघ र प्रदेशको निर्वाचन नजिकिँदै छ तपाईँले कहाँबाट उम्मेदवारी दिने तयारी गर्नु भएको छ ?
मेरो स्थायी बसोबास भएको झापा क्षेत्र नं. ५ हो । म त्यहीबाट संघीय चुनावमा उम्मेदवारी दिने तयारी गरेको छु ।
त्यो क्षेत्र त नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको होइन र ?
हो, त्यो क्षत्रे केपी शर्मा ओलीको नै हो । उहाँ पनि त्यहीबाट यस पटक उठ्नु हुन्छ होला । म पनि त्यहीबाट स्वतन्त्रमा उठ्दै छु ।
भनेपछि तपाईँ केपी शर्मा ओलीसँग भिड्दै हुनुहुन्छ ?
त्यहाँ म ओली विरुद्ध लड्न पाएमा मलाई आनन्द हुनेछ । र, म त्यहाँका जनताका लागि ओलीसँग भिड्न तयार छु । मेरो प्रश्न ओलीको लागि पनि रहेको छ की उहाँ अब के को लागि चुनावमा उठ्ने ? अब उहाँले गर्न बाँकी के रहेको छ ? सधैँ ढाँटेर राजनीति गर्ने अनि फेरि त्यही मतदाताकोमा के आधारले भोट माग्नु जानु हुन्छ ? सधैँ उहाँले गफ गरेर मात्रै हुँदैन । मेरो उम्मेदवारी ठूलो नेतृत्वमा पुग्छु भनेर होइन देशको लागि के गर्न सक्छु भनेर हो ।
आफू जितेर आएपछि ओली त्यो क्षेत्रका मतदातालाई चिन्नु समेत हुन्न । त्यहाँ बस्नु पनि हुन्न अनि त्यहाँको मतदाताको दुःख र आवश्यकता के हो भनेर बुझ्नु समेत हुन्न । अनि उहाँलाई त्यहाँका मतदाताले फेरि किन जिताउने ? त्यस क्षेत्रका मतदाता केपी शर्मा ओलीसँग खुसी छैनन । त्यहाँका जनतालाई खुसी दिनका लागि म ओलीसँग भिड्दै छु ।
चुनाव जित्नका लागि पैसाको खोलो बगाउनु पर्छ भन्छन्, तपाईँ कति खर्च गर्नु सक्नुहुन्छ ?
चुनावमा म धेरै खर्च गर्दिन । १०/२० हजारभन्दा धेरै म खर्च गर्दिन । अहिलेसम्म नेताहरूले जसरी पैसा खर्च गरेर चुनाव जितेका छन् उनीहरूको विरुद्धमा म छु । आज खर्च गरेको पैसा भोलि उठाउनु पर्ने हुन्छ । त्यो व्यापार जस्तो भयो । राजनीति भनेको व्यापार होइन । म जनताको सेवा गर्न लागेको हो व्यापार गर्न लागेको होइन । म कम खर्चमा नै आफ्ना एजेन्डासहित ओलीलाई आधाभन्दा धेरै मत ल्याएर चुनाव जित्छु भन्ने विश्वास छ ।
ओलीले आजसम्म जे–जे ढाँट्नु भएको छ त्यो म ढाँट्ने छैन । मतदाताहरू आजसम्म जसरी झुक्किनु भएको छ त्यसी अब झुक्किनु हुँदैन । इमानको राजनीति गर्न हुँदैन । बेइमान गर्नेहरूको लागि सबक सिकाउने हामी स्वतन्त्रहरूले हो । राजनीतिक दलहरूले चुनावका लागि पैसाको जोहो गर्ने काम गरिरहेका छन् । तर, मैले त्यो पैसाले चुनाव लड्ने होइन । जो ठूला भनाउँदा पार्टीहरू पैसाको जोहो गर्दै छन् तर म एक रुपैयाँ पनि खर्च जोहो गरेको छैन । बिना खर्च पनि म चुनाव लड्नेछु र त्यहाँका मतदाताहरूले पत्याउनु हुन्छ भन्ने मेरो विश्वास रहेको छ ।
यहाँले भने जस्तै देश नेताले बिगारेका हुन् ?
देश बिग्रिनुमा राजनीतिक नेतृत्व कै पहिलो भूमिका रहन्छ । एक जना प्रधानमन्त्री इमानदार हुने हो भने समग्र देश बन्नलाई कुनै समय लाग्दैन । कुनै पनि राजनीति गर्ने नेताहरूले आफूले गल्ती गरे भने उसले राजनीतिबाट विश्राम लिनु पर्छ । तर, हाम्रोमा आत्म आलोचना गरे भन्दै फेरि त्यही गल्ती गर्दै हिँडेको पाइन्छ । मेरो लागि राजनीति होइन म आफू मेटिएर राजनीति गर्नु पर्छ भनेर नेताहरू अगाडी लाग्नु पर्छ । राजनीतिमा राम्रो नेतृत्व नपाएका कारण नै अहिले देश बेथितिमा गएको हो । देश विकासमा फड्को मार्ने हो भने इमानदार नेतृत्व लिनु पर्छ । राजनीतिलाई पेसा बनाउन हुँदैन ।
अहिले हाम्रोमा सबैले आफ्नो व्यवसाय र घर चलाउनका लागि राजनीति गरेको पाइन्छ । घर चलाउने कुरा छोड्नु पर्छ । अब देश कसरी चल्छ भन्ने प्रण लिनु पर्छ । आफ्नो खुशी छोडेर देश र जनताको खुसीको लागि लाग्नु पर्छ ।
हिजोका दिनमा देशका लागि म मरिमेट्छु भनेर आएकाहरू अहिले के गर्दै छन् हामीले राम्रोसँग देख्न सक्छौँ । उनीहरूले आफ्ना लागि कमाए । आफ्ना मान्छेलाई जागिर लगाए । आफूले गाडी किने आफूले घर बनाए । जनताले कहिले घर बनाउँछन् कहिले हेलिकप्टर चढेर जन्मदिन मनाउँछन् भन्ने कुरा हेर्नु पर्यो । आफूले त्यस्तो गर्ने होइन । मेरा लागि होइन जनताको लागि मैले काम गर्नु पर्छ भनेर नेताहरूले बुझ्नु पर्छ । यही कुरा नभएका कारण अहिलेको अवस्थामा देशको स्थिति लथालिङ्ग जस्तो देखिएको हो ।
नेतृत्व गर्ने व्यक्ति तथा प्रधानमन्त्री इमानदार बन्ने हो भने देश नै समग्रमा सुध्रिन सक्छ । तर, नेतृत्व गर्ने व्यक्तिहरूले मनन गर्नु भएको छैन । त्यसको विकल्प हामी जस्ता स्वतन्त्रहरूले दिने हो ।
हिजोको पञ्चायत, राणकालिन, बहुदलीय व्यवस्था र अहिलेको सङ्घीयताको अभ्यासमा सबैभन्दा कुन ठिक हो ?
एक दलीय व्यवस्थामा विकासले फड्को राम्रो मारिएको होला तर, पछिल्लो सङ्घीयताको अभ्यास गर्दै जाँदा पनि विकासले फड्को मारेको छ । त्यसैले आजसम्मको स्थिति हेर्दा लोकतन्त्रको विकल्प छैन । जे व्यवस्था छ यथास्थितिमा भएकोको विकल्पमा हामी जान हुँदैन । यही स्थितिमा बसेर हामीले विकास निर्माणको फड्को मार्नु पर्छ । हाम्रो सोचाइमा परिवर्तन आउनु पर्छ ।
प्रतिक्रिया दिनुहोस