aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

विश्व बैंकसंग पनि हामीले ऋणको लागि सम्झौता गरिसकेका छौँ :सीईओ उपाध्याय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ भदौ २०७९

केही साता अघि बैंकहरुले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण हेर्ने हो भने गत आवको अन्तिमसम्ममा बैंकहरुले उत्साहजनक नाफा गरेको देखिँदैन । यसका साथै बैंकहरु एक अर्कामा को अगाडी पुग्ने भन्नेमा होडबाजी चलेको देखिन्छ । एक अर्कामा प्रतिस्पर्धा गर्दा बजारमा लगानीयोग्य रकम सकिएको थाहा नभएको हो ? र, अर्कोतिर बैंकहरुले गरेको नाफालाई मात्रै हेरेर त्यो बैंक राम्रो नराम्रो भन्नेबारे छुट्टाइन्छ । वास्तवमै बैंक राम्रो हो होइन भनेर थाहा पाउनका लागि कुन कुन पक्षहरू आवश्यक हुन्छ भन्ने विषयमा नेपाल बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल उपाध्यायसँग आर्थिकन्युज डटकमले कुराकानी गरेको छ । प्रस्तुत छ, सोही कुराकानीको सम्पादित अंश: 

पछिल्लो समय बैंकहरुको वित्तीय विवरणले वाणिज्य बैंकहरुको अवस्था र सुधारका गर्नु पर्ने पक्षहरू के के देखायो ? 

कोरोना महामारीबाट परेको प्रभावलाई सुधार गर्दै गर्दा हामी पुनः आर्थिक सङ्कुचनमा धकेलिन पुग्यौँ । भुक्तानी सन्तुलनदेखि विदेशी मुद्राको संञ्चितीसम्मको दबाबमा हामीले पोर्टोफोलियो म्यानेज गर्दै अगाडी बढ्यौँ । गत आर्थिक वर्षको अन्तिमसम्म आइपुग्दा हामी संकटमा पनि आफ्नो पोर्टफोलियो म्यानेज गर्न गर्दै प्रतिफल दिन सक्ने अवस्थामा आइपुग्यौँ । 

गत आवको अन्तिमसम्मको बैंकहरुको वित्तीय अवस्थाको रिपोर्ट हेर्ने हो भने त्यति धेरै नाफा भएको देखिँदैन । अर्कोतिर बैंकहरु एक अर्कामा को अगाडी पुग्ने भन्नेमा होडबाजी चलेको देखिन्छ । एक अर्कामा प्रतिस्पर्धा गर्दा बजारमा लगानीयोग्य रकम सकिएको थाहा नभएको हो ?

त्यस्तो होइन । हामीले वार्षिक योजना अनुसार अगाडी बढेका हुन्छौँ । स्रोत व्यवस्थापनदेखि वर्षभरिमा गर्ने सबै प्रकारका क्रियाकलापहरूको बारेमा पहिले नै योजना बनाएका हुन्छौँ । हामी पनि व्यवसाय गर्न आएको हो । यसलाई राम्रो  बनाउनु पर्छ । प्रतिफल राम्रो दिनु पर्छ भन्ने हुन्छ । सुशासन, पारदर्शी र समयमा साधारण सभा गर्नु पर्छ भन्ने कुराहरूमा प्रतिस्पर्धा हुनु स्वाभाविक हो । प्रतिस्पर्धी भएर एक अर्कामा अब्बल हुन खोज्नु एकदमै राम्रो पक्ष हो । त्यो पक्षमा हामी बैंकहरु चुक्दैनौँ ।

नेपालमा सबैभन्दा पारदर्शी तरिकाले बैंकहरु नै चलेका छन् । नियमनकारी निकायले नियमित अनुगमन तथा नियमन गरिरहेको हुन्छ । समयमा वित्तीय विवरण सार्वजनिकदेखि एजियमसम्म समयमा नै गरिरहेको हुन्छ । समग्रमा बैंकहरुको नाफा राम्रो छ । यसले लगानीकर्ताहरूलाई प्रतिफल दिन सक्छौँ । कर्मचारीलाई बोनसको सुविधा हुन्छ । खर्च व्यवस्थापन गर्न सक्छौँ । सिस्टम अपग्रेड गर्न सक्छौँ । 

नाफा भएन भने हामी पनि बन्द गर्नु पर्ने अवस्थामा पुग्छौँ । हामी बन्द हुनु भनेको इन्डष्ट्रि बन्द हुनु हो । यसमा हामी सचेत छौँ । संकटको बिचमा पनि हामी व्यवस्थित तरिकाले अगाडी बढ्नु पर्छ भन्ने सोचले हामी अगाडी बढिरहेको छौँ ।  

बैंकहरुको वित्तीय विवरणमा नाफालाई मात्रै हेरेर बैंक राम्रो नराम्रो भन्नेबारे छुट्टाइन्छ । वास्तवमै बैंक राम्रो हो होइन भनेर थाहा पाउनका लागि कुन कुन पक्षहरू आवश्यक पर्छ ? 

यी कुराहरूमा पत्रकारहरूले पनि ख्याल राख्नु पर्ने हुन्छ । उहाँहरूले विश्लेषण गर्ने भनेको नै यही कुरा हो । अहिले हामीले यो बैंकले यति नाफा कमायो र अर्कोले घटायो मात्रै भनेर विश्लेषण गर्ने गर्छन् । यो होइन । 

आजको दिन बैंकले सञ्चालन मुनाफा कति गर्‍यो, एसेस्ट क्वालिटी के छ, रिजर्भको पोजिसन के छ, नेटवर्थ, आरओई के छ भन्ने कुराहरूलाई अब्बल बनाउँदै लगेको छ छैन भनेर हेर्नु पर्ने हुन्छ । बैंकले खर्च घटाउने सक्यो कि सकेन, जोखिमको अवस्था कस्तो छ, कुन क्षेत्रमा लगानी गरेको छ लगायत कुराहरूलाई हेरेर विश्लेषण गर्नु पर्ने हुन्छ । 

तर, हाम्रो स्वभाव नाफा कति भयो भन्नेमा मात्रै गइरहेको छ । नाफा कमाउनु पनि राम्रो हो । नकारात्मक कुराले नाफा कमाएको हुँदैन राम्रो गरेर नै कमाएको हुन्छ । तर, त्यो नाफासँग जोडिएका अन्य कुराहरूलाई हेरेर कसरी बैंक अब्बल बन्न खोजिरहेको छ भन्ने कुराहरुलाई हेर्नु पर्ने हुन्छ । 

कोरोना महामारी कारण कतिपय उद्योगहरू ठप्प भए । त्यस क्षेत्रको इन्भेष्टमेन्टमा त्यसको असर तत्कालै नेदखिए पनि अव बिस्तारै देखिन थाल्न सक्छ नि होइन ?

स्रोत र तरलताको कमीका कारण माग र आपूर्तिमा कमी आएको छ । दुई वर्ष अघि २८ प्रतिशतले कर्जाको ग्रोथ गरेका थियौँ । गएको वर्ष १२ प्रतिशतको हाराहारीमा कर्जाको विस्तार गर्‍यो । स्रोतको कुरा गर्ने हो भने स्रोतमा पनि ८ प्रतिशतको वृद्धि रहेको छ । यी कुराहरूलाई नेपाल राष्ट्र बैंकले चालेको कदमका कारण यी कुराहरूलाई व्यवस्थापन गर्दै अगाडी बढिरहेका छौँ । 

समग्रमा नभए पनि त्यति बेला चालेका कदमका कारण अहिले पर्यटकीय गतिविधि र आर्थिक गतिविधि चलायमान बन्न सकेको छ । सबैजसो नभए पनि धेरैजसो आर्थिक गतिविधि चलायमान अवस्थामा रहेको छ । 

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको लागि ल्याएको मौद्रिक नीतिले बैङ्किङ क्षेत्रमा कस्तो असर गर्ला ? 

पछिल्लो समय क्षणिकरुपमा विदेशी सञ्चितीमा केही सुधार भएको देखिएको छ । सरकारले र नेपाल राष्ट्र बैंकले लिएको नीतिका कारण यसमा सुधारको सङ्केत देखिएको छ । जसमा हामी बैंकहरुले पनि साथ दिन सक्यौँ । अहिले हामीले सबै कुरा नर्मल छ र नर्मल तरिकाले नै काम गर्नु पर्छ भनेर हेर्ने गर्छौ । तर, अहिले नर्मल अवस्था छैन । नेपालको अर्थतन्त्रमा परिरहेको प्रभावलाई हेर्दै चालू आर्थिक वर्षको लागि ल्याइएको बजेट र मौद्रिक नीतिले केही स्पष्ट पारेको छ । 

उत्पादनमा जानुपर्छ, आन्तरिक खपत बढाउनु पर्छ । त्यसका लागि प्रवाह गरिने ऋण फरक हुनु पर्छ । यसले उत्पादनलाई हामीले प्राथमिकताका साथ काम गर्नु पर्छ भन्ने कुरालाई जोड दिएको छ । 

अर्थ व्यवस्थामा आएका नकारात्मक कुराहरूलाई सुधार गर्ने कुरा गरिएको छ । यस्तो बेलामा उत्पादनमुखी अर्थतन्त्र बनाउने भनिएको छ । आयातलाई नियन्त्रण गर्ने भनिएको छ । यी कुराहरूलाई सम्बोधन गर्दै मौद्रिक नीतिले सङ्कुचन भित्र उत्पादनलाई जोड दिएको छ । 

सरकारले विलासीका वस्तु आयातमा रोक लगाएको छ । यसको प्रत्यक्ष असर बैंकहरुमा पनि परेको छ । एलसी लगायतबाट आउने आम्दानीलाई उत्पादनमुखी तिरबाट कभर हुन्छ की हुँदैन ? 

बैंकहरुको भनेको एउटा क्षेत्रको आम्दानीमा मात्रै बस्दैन । बैंकहरुले भनेको विभिन्न क्षेत्रबाट आम्दानी गर्ने हो । बैंकहरु एउटा क्षेत्रको आम्दानीको भरमा रहेका हुँदैनन् । जब सङ्कट आउँछ तब विभिन्न खालका औजारहरू प्रयोग हुन्छ । त्यस्ता औजारहरूमा टिक्ने खालको क्षमतामा विकास गर्नु पर्ने हुन्छ । सरकारले एउटा खोजिरहेको छ तर हामी अर्को तिर दौडिन मिल्दैन । त्यसैले हामीले प्रतिकुल र अनुकूल समयलाई विश्लेषण गरेर कमाउने र विस्तार गर्ने हो । यति कुरा बुझियो भने सस्टेन्ट गर्नु पर्ने ठूलो कुरा हो । सस्टेन्टमा चल्दै गर्नु पर्‍यो ।

जोखिम जहाँ पनि छ । जोखिम भित्र कसरी अगाडी बढ्ने भन्ने हो । त्यसैले बैंकहरुले समय अनुकूल हिँड्नु पर्ने हुन्छ । मौद्रिक नीतिले पनि आयातमुखी जसले उत्पादनमा असर गर्छ उसलाई नियन्त्रण गर्नु पर्ने भनेको छ । यही अनुसार बैंकहरु पनि अगाडी बढ्नु पर्ने हुन्छ । कुन क्षेत्रमा जाँदा हामीलाई जोखिम हुन्छ र कुन क्षेत्रमा हामी सुरक्षित र भरपर्दो हुन्छौँ त्यसलाई हेरेर अगाडी बढ्नु पर्ने हुन्छ । 

कृषि विकास बैंकमा सरकारी स्वामित्व रहेका कारण यहाँलाई राजनितिकरुपमा कतिको दबाब आउँछ ? 

मेरो नियुक्ति बैंक सञ्चालक समितिबाट भएको हो । यसले गर्दा मेरो दायित्व पनि त्यतै तिर हुन्छ । अन्य बैंकमा जसरी प्रमोटरबाट प्रतिनिधित्व हुन्छ त्यस्तै यता पनि सरकारको तर्फबाट केही व्यक्ति आउन सक्छन् । अन्य बैंकभन्दा फरक भनेको अन्य बैंकमा लगानीकर्ता व्यक्तिबाट आउने भयो भने यता सरकारबाट आउने हो । पात्र मात्रै फरक हो काम गर्ने तरिका उस्तै नै हो । 

कतिपय कुराहरूमा हामीलाई सरकारबाट समेत सहयोग प्राप्त हुने भएकोले यसमा मलाई गर्व समेत लाग्छ । हामीले कुनै पनि देशबाट पैसा ल्याउनु पर्‍यो भने हामी आफैले ग्यारेन्टी गर्नु पर्दैन त्यो काम सरकारले गरिदिन्छ । त्यो हाम्रो लागि राम्रो पक्ष हो ।  

अहिलेको अवस्थामा केही बैंकहरुले विदेशबाट ऋण ल्याइराखेको अवस्था छ । यस्तो अवस्थामा कृषि विकास बैंकले पनि ल्याउने तयारी छ की छैन ? 

कृषि विकास बैंकले दीर्घकालीन खर्चको स्रोतको जोहो गरिरहेको छ । हामीले डिभेञ्चर, बोण्ड जारी गरेका छौँ । पछिल्लो समय प्रदेश सरकारसँग सहकार्य गरेर दीर्घकालीन पैसा लिएर उहाँहरूसँग काम गरिरहेका छौँ । त्यस्तै, कृषिको मूल्य श्रृखला भनेर एक प्रोजेक्टबाट सम्झौता गरेर पहिलो किस्ता बापतको पैसा हामीले ल्याइसकेका छौँ । त्यो ३० वर्षको अवधिका लागि सरकार मार्फतबाट ल्याएको हो । 

विश्व बैंकसंग पनि हामीले ऋणको लागि सम्झौता गरिसकेका छौँ । त्यो पनि पाइपलाइनमा रहेको छ । हामीले दीर्घकालीन सोच सहित धेरै कामहरू गर्दै आएका छौँ । सङ्कट अहिले पनि छ यसबाट माथि उठ्नका लागि कृषि विकास बैंकले पनि काम गरिरहेको छ ।  

कृषि विकास बैंकले दिएको कृषि कर्जा कति सुरक्षित छ ? 

कृषि क्षेत्रको लगानी जोखिम पनि छ । केहीमा बीमा पनि छ । किसानले कहिले मूल्य पाएको हुँदैन । कहीँ बिउ पाएको हुँदैन । कहिले मल पाएको हुँदैन । कहिले प्राकृतिक विपत्ति आउँछ  । तर, समग्रमा यस क्षेत्रको लगानी राम्रो नै छ । निराश बन्नु पर्ने अवस्था छैन । 

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सङ्ख्या घटाउन खोजिरहेको छ । निजी बैंकहरुले सरकारी बैंकहरु चाहिँ किन मर्जरमा नजाने भन्ने गरिन्छ नि ?

मर्जरको विषयमा हामीले यहाँ बहस गर्ने भन्दा पनि अन्तर्राष्ट्रिय प्राक्टिस हेर्नु पर्ने हुन्छ । बाहिरका धेरै मुलुकहरूमा मर्जर सामान्यरुपमा नै चलिरहेको हुन्छ । हाम्रोमा भर्खर यस्तो प्राक्टिस भएको कारणले पनि यो बहसको विषय बनेको हो । मर्जर आफैमा नराम्रो कुरा होइन 

२७ वटा वाणिज्य बैंकमध्ये तीन वटा सरकारी बैंक रहेको छ । २७ वटामध्ये तीन वटा हो नि त । कि तीन भर्सेस तीन हुनु पर्‍यो । सरकारी बैंकमा सरकारले नै पुँजी थप गरेर ठूलो बढाउन सक्छ । त्यो भएन भने पनि मर्जरमा जानु पर्‍यो भने पनि सरकारले निर्णय गर्‍यो भने हामीले त्यसरी नै जान सक्छौँ । 

अहिले सर्वसाधारणमा बैंकहरुको ब्याजदर कतिसम्म पुग्ला भन्ने त्रास रहेको छ । यहाँ बैंकर्स संघको अध्यक्ष भएको हिसाबले भन्नु पर्दा बैंकहरुको ब्याजदर कतिसम्म पुग्ला ? 

अहिले निक्षेपको वृद्धि हुन सकेको छैन । घट्दो क्रममा रहेको छ । निक्षेपको ब्याजदर जहाँ पुग्नु पर्ने हो त्यहाँ पुगेको छ । ब्याजदरले नै बचतकर्ताहरूको निक्षेप संरक्षण गर्नु पर्ने हामीलाई दबाब रहेको छ । अहिलेको अवस्थामा निक्षेप संरक्षण गर्न सकेनौँ भने बचतकर्ताहरूले अन्य क्षेत्रमा लगानी गर्नु हुन्छ । त्यसैले हामीले ब्याजदरलाई सन्तुलित गर्दै लगिरहेका छौँ । आगामी दिनमा विश्लेषण गर्दै ब्याजदर बढाउने र घटाउने गर्छौ ।   

 

प्रतिक्रिया दिनुहोस