
काठमाडौं । अखिल नेपाल महिला संघ सिन्धुलीको पाँचौ जिल्ला सम्मेलन पदाधिकारीको टुंगो नलागी सकिएको छ । अध्यक्ष मण्डलले सदस्यहरुको चाहना विपरित जवर्जस्त नेतृत्व चयनमा हस्तक्षेप गरेको भन्दै महिलाहरुले अध्यक्ष मण्डलको माईनुट च्यातेपछि अधिवेशन टुंगोमा नपुगी सकिएको हो ।
अखिल नेपाल महिला संघको मस्यौदा विधान २०७८ अनुसार सदस्य छनौटपछि छानिएका सदस्यहरुको पहिलो बैठकले पदाधिकारी चयन गर्ने व्यवस्था भए पनि अध्यक्ष मण्डलले हस्तक्षेप गरेर अवैधानिक तरिकाले पदाधिकारी चयन गरेको भन्दै सदस्यहरुले अध्यक्ष मण्डलका अध्यक्ष रश्मिला देवकोटाको हातको माईनुट खोसेर च्यातेका हुन ।
अध्यक्ष मण्डलले अध्यक्षमा मेनुका तिमल्सिना, उपाध्यक्षमा राधा कार्की, सर्मिला माझी, सचिवमा रमा कार्की, कोषाध्यक्षमा भद्रा राजभण्डारी र सहसचिवमा तुलसा देवकोटाको नाममा सहमति भएको निर्णय गरेको थियो । विधानको धारा २९ मा रहेको सदस्य तथा पदाधिकारी चयनको व्यवस्था अध्यक्ष मण्डलले उलंघन गरेको अखिल नेपाल महिला संघका सदस्यहरुले बताएका छन ।
अध्यक्ष मण्डलका अध्यक्षमा अनेमसंघका जिल्ला इन्चार्ज रश्मिला देवकोटा थिईन भने सदस्यहरुमा नेकपा एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङ, उपसचिव मञ्जु देवकोटा, अनेमसंघका केन्द्रीय सदस्यहरु रमा शर्मा, सुकुमाया तामाङ, मिना कार्की रहेका थिए ।
सम्मेलनले ६७ जना सदस्य सर्वसम्मत चयन गरेको छ । पदाधिकारी चयनमा विधानमा भएको व्यवस्था विपरित सदस्यहरुको अधिकार अध्यक्ष मण्डलले खोसेको सदस्यहरुको आरोप छ । पहिलो बैठकबाट सदस्यहरुलाई पदाधिकारी चयन गर्न त्यस अघि पनि सदस्यहरुले माग गरिरहेका थिए ।
प्रतिक्रिया दिनुहोस