aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

टुँडिखेल–सैनिकमञ्चमा ‘बुलेटप्रुफ क्याबिन’ बन्दै

  • रासस
    रासस
  • शुक्रबार, ३१ साउन २०७६
टुँडिखेल–सैनिकमञ्चमा ‘बुलेटप्रुफ क्याबिन’ बन्दै

काठमाडौं । काठमाडौंको मुटुमा रहेको ऐतिहासिक महत्वको टुँडिखेललाई व्यवस्थित गरी चिटिक्क बनाइने भएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले टुँडिखेल पुनःनिर्माण गर्ने भएपछि साँच्चिकै काठमाडौंको सुन्दरता बढ्ने र राष्ट्रिय कार्यक्रम गर्नसमेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

राष्ट्रियस्तरको कार्यक्रम सन्चालन गर्न राजधानीमा उपलब्ध ऐतिहासिक धरोहरकारूपमा रहेको टुँडिखेललाई सुधार गर्नेक्रममा आधुनिक संरचना, नेपाली वास्तुकलासहित सैनिकमञ्चको क्षमता वृद्धि गरिनेछ ।

काठमाडौं मध्यभागमा अवस्थित सामाजिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको टुँडिखेल मुलुककै गौरव हो । टुँडिखेलभित्र वि.सं. २०१८ मा आधुनिक सैनिकमञ्च निर्माण गरिएको थियो ।

पुनःनिर्माणकोक्रममा टुँडिखेल वरिपरि उद्यानसहितको ‘जगिङ ट्रयाक’ र महाँकाल मन्दिरबाट पुरानो बसपार्क जाने आकर्षक लिंकरोड र दक्षिणमा प्यारापिट बनाइनेछ ।

घोडेजात्रा, गणतन्त्र दिवस, संविधान दिवस, शिवरात्रि र फूलपाती बढाइँजस्ता कार्यक्रममा पहुँच असुविधा भएपछि टुँडिखेल वरपरका रुख र भवनका छतबाट जोखिम सहेर सर्वसाधारणले कार्यक्रम हेर्दै आएका छन् ।

टुँडिखेलको पुनःनिर्माण र उत्थानका लागि झन्डै रु ९० करोड आवश्यकपर्नेमा यस वर्ष वार्षिक बजेटमा रु पाँच करोड परेको नेपाली सेनाले जानकारी दिएको छ ।

पुनःनिर्माणलाई सेनाले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा अघि बढाउने निधो गरेको बताइएको छ ।

सैनिकमञ्चमा हाल कायम रहेको एक हजार ३६५ सिट संख्यालाई बढाएर तीन हजार ८० पुर्‍याउने, भूकम्पप्रतिरोधी परम्परागत नेपाली संरचना, अतिविशिष्ट व्यक्तिका लागि ‘बुलेटप्रुफ क्याबिन’, फरक क्षमताका व्यक्तिमैत्री भौतिक पूर्वाधार, सर्वसाधारणका लागि सहज पहुँच र भूमिगत पार्किङसम्बन्धी विषय टुँडिखेल तथा सैनिकमञ्च सुधार परियोजनामा समावेश गरिएकोे छ ।

अतिविशिष्ट व्यक्तिसमेत उपस्थित भइरहने तथा राष्ट्रिय कार्यक्रम हुने सैनिकमञ्चलाई साजसज्जासहित चिटिक्क र आधुनिक तुल्याउने कार्यक्रम अघि बढाइएको रक्षा मन्त्रालयका सहायक प्रवक्ता मनोजकुमार आचार्यले जानकारी दिए । त्यहाँ ‘लिफ्ट’सहितको व्यवस्था गरिने बताइएको छ ।

वि.सं. १९९० अघि र पछिका ठूला भूकम्पमा राजधानीवासीलाई आश्रय दिँदै आएको टुँडिखेल सहरी क्षेत्रका नागरिकका लागि अहिले बिहान–बेलुका स्थास्थ्यलाभका लागि हिँड्डुल गर्ने थलोकारूपमासमेत प्रयोग भइरहेको छ ।

त्यसो त पहिलो र दोस्रो विश्वयुद्धमा सहभागी हुन जाने नेपाली युवाले यसै टुँडिखेलमा अभ्यास गरेको इतिहास छ ।

सहरका केटाकेटीलाई दुःख दिने गुरुमापा नामक राक्षसलाई घोडाको टापले थिचेर अन्त्य गर्न घोडा कुदाउने परम्परा पनि यही टुँडिखेलले बोकेको छ ।

मुलुकका विभिन्न भागका नागरिकले काठमाडौं आएर हेर्ने महत्वपूर्ण स्थलकारूपमा रहेको टुँडिखेलमा अहिले सहरी क्षेत्रका स–साना केटाकेटी र युवापुस्ताका लागि फुटबल र क्रिकेट सिक्ने ठाउँ तथा योग अभ्यास गर्ने थलो भएको छ ।

विभिन्न चाडपर्वसँग जोडेर टुँडिखेलमा अचेलभर मेला र महोत्सवसमेत आयोजना गरिँदै आइएको छ ।

वीर सैनिकको योगदानको स्मरण र कदरस्वरुप निर्माण गरिएको सैनिकमञ्चमा विगतमा नेपाल भ्रमणमा आउने विशिष्ट पाहुनालाई सम्मानगारत प्रदान गर्ने प्रचलन थियो ।

पुनःनिर्माणपछि टुँडिखेलमा आयोजना हुने राष्ट्रिय कार्यक्रममा सर्वसाधारणको पहुँचलाईसमेत व्यवस्थित र सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस