aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

झन्झटिलो प्रक्रिया, यस पटकको निर्वाचनमा ५०३ प्रकारका मतपत्र प्रयोग हुने

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • मंगलबार, ०७ भदौ २०७९
झन्झटिलो प्रक्रिया, यस पटकको निर्वाचनमा ५०३ प्रकारका मतपत्र प्रयोग हुने

काठमाडौं । आगामी ४ मंसिरका लागि तय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ५ सय ३ प्रकारका मतपत्र प्रयोग हुने भएको छ ।

निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि ५ सय ३ प्रकारका मतपत्र प्रयोग हुने र दुवै निर्वाचन गरी करिब ८ करोड मतपत्र छापिने बताएको हो ।

आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्रत्येक क्षेत्रमा फरकफरक, प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रमा फरक, सातै प्रदेशको समानुपातिकतर्फ प्रत्येक प्रदेशमा फरक तथा प्रतिनिधि सभातर्फको पुरै देशलाई ‘एक निर्वाचन क्षेत्र’ मान्ने समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि छुट्टै प्रकारको मतपत्र प्रयोग हुने जानकारी दिए ।

जसअनुसार प्रतिनिधि सभा प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमा १ सय ६५ प्रकारकै मतपत्र प्रयोग हुनेछ ।

त्यस्तै, ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा ३ सय ३० प्रकारकै मतपत्र र सात प्रदेश प्रदेश सभाका समानुपातिक निर्वाचन प्रणालीका लागि ७ प्रकारका तथा प्रतिनिधि सभा समानुपातिक निर्वाचन प्रणालीतर्फ एक प्रकारको मतपत्र प्रयोग हुने छ ।

आयोगले पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ जुन पार्टीका उम्मेदवार जुन क्षेत्रमा उठेका छन्, सो उम्मेदवारको निर्वाचन चिह्न मात्र मतपत्रमा समावेश गरिने बताएको छ ।

त्यस्तै, प्रतिनिधि तथा प्रदेश सभा समानुपातिकतर्फ बन्दसूचीमा उम्मेदवारी दिने दलको मात्रै निर्वाचन चिह्न मतपत्रमा समावेश गरिने भएको छ । यी सबैगरी आगामी निर्वाचनमा चार मतपत्र प्रयोग हुने र एक मतदाताले चार मतपत्र लिएर मतदान गर्नुपर्ने आयोग सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस