काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगरका शिक्षक र कर्मचारीहरुलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिएका छन् । मेयर साहले एक विज्ञप्ति मार्फत यस्तो यस्तो निर्देशन दिएका हुन् ।
मेयर साहले जारी गरेको विज्ञप्तिमा भनिएको छ – ‘काठमाडौं महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन वा सदस्यता दिएको भए रद्द गर्न सम्बन्धित राजनीतिक दल, भातृ संस्था वा सुवेच्छुक संस्थालाई हार्दिक अपिल गरिन्छ,’
साह अगाडि लेख्छन् – ‘साथै, राजनीतिक दल, भातृ संस्था वा सुभेच्छुक संस्थाको सदस्यको रुपमा राजनीतिक आवद्धता कायम राखेको भएमा काठमाडौं महानगरपालिका अन्तर्गतको शिक्षक तथा कर्मचारीले त्यस्तो आवद्धता तत्काल त्याग गरी कानूनको परिपालना गर्न यसै विज्ञप्तिमार्फत सूचित गरिन्छ ।’
अन्यथा, सार्वजनिक रुपमा उजुरी आव्हान गरी वा अन्य उपाय बमोजिम प्राप्त सूचनाको आधारमा कानूनी कारबाही अगाडि बढाउने नीति अख्तियार गरिने साहले विज्ञप्तिमार्फत चेतावनी दिएका छन् ।
मेयर साहले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा ९२० को खण्ड गले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक दलले सदस्यता दिन नहुने व्यवस्था रहेको जनाउँदै यस्तो निर्देशन दिएका हुन् ।
उच्च अदालत पाटनबाट आदेश भएको विषय पनि स्मरण गराउँदै उनले काठमाडौं महानगरपालिकाको कुनै पनि कर्मचारीले राजनीतिक दल वा संगठनको सदस्यता लिन, राजनीतिक क्रियाकलापमा संलग्न हुन वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिन नपाइने व्यवस्था काठमाडौं महानगरपालिका कर्मचारी सेवा ऐन, २०७७ को दफा ४५ ले पनि गरेको जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस