aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

फोहोर व्यवस्थापनमा सहरी विकास मन्त्रालयको सक्रियता

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • बुधबार, ०८ भदौ २०७९
फोहोर व्यवस्थापनमा सहरी विकास मन्त्रालयको सक्रियता

काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापन विषयमा सहरी विकास मन्त्रालयले सक्रियता बढाएको छ । निकाय र सिसडोल बन्चरेडाँडा ल्यान्डफिल्ड साइटका स्थानीयबीच यसअघि भएको सहमति कार्यान्वयन समयावधि घर्किंदै जाँदा मन्त्रालयले सक्रियता देखाएको हो ।

सहरी विकासमन्त्री मेटमणि चौधरीको संयोजकत्वमा सांसद, काठमाडौं उपत्यका तथा फोहोर व्यवस्थापन हुने नुवाकोट र धादिङ जिल्लाका जनप्रतिनिधिसँग छलफल भएको छ ।

छलफलबाट सिसडोल र बन्चरेडाँडामा काठमाडौंको फोहोर व्यवस्थापन विषयमा सहजीकरण र अनुगमनका लागि उच्चस्तरीय समिति गठन गरिएको छ । समितिमा काठमाडौं, नुवाकोट र धादिङका सांसद्समेत छन् ।

कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले ‘फोहोर व्यवस्थापनमा दीर्घकालीन हल खोज्न सकियोस् भन्नका लागि काठमाडौं, नुवाकोट र धादिङका प्रतिनिधिसभा सदस्य सम्मिलित सहजीकरण तथा अनुगमन समिति बनाउने निर्णय गरेको’ बताए ।

‘केही दिनदेखि काठमाडौंको फोहोर उठ्न थालेको छ । अब पुनः समस्या नबल्झियोस् भन्नका लागि निरन्तर सहजीकरण र अनुगमन आवश्यक छ । फोहोर व्यवस्थापन सन्दर्भमा काठमाडौं महानगरपालिकाले गर्नुपर्ने काम निरन्तर गरिरहेको छ,’ सांसद् थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यसबाहेक संघीय सरकारले गर्नुपर्ने काम तोकिएकै समय हुन सकोस् ।’

समितिले स्थानीय र सरकारबीच भएका सम्झौताबमोजिमका काम समयमै पूरा गर्न तीनवटै तहका सरकार र निकायसँग समन्वय र सहजीकरण गर्ने जनाएको छ ।

छलफलमा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, धादिङ धुनवेंशी नगरपालिका र नुवाकोट ककनी गाउँपालिकाका प्रतिनिधिको समेत सहभागिता थियो ।

छलफलमा मन्त्री चौधरीले सांसद तथा नेपाली कांग्रेस महामन्त्री थापालाई संयोजक बन्न प्रस्ताव गरेका थिए । थापाले काठमाडौं, धादिङ र नुवाकोटका सांसद भेलाबाट निर्णय हुनुपर्ने जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस