काठमाडौं । हरेक वर्ष भाद्र कृष्ण त्रयोदशी प्रदोष व्रतका दिन दान धर्म गर्दै पञ्चदान पर्व मनाइएको छ ।
आफू मात्र लिने नभई अरूलाई पनि दिने प्रवृत्तिको उदाहरणका रूपमा यो पर्वलाई लिने गरिन्छ । नेवार समुदायअन्तर्गत बौद्ध धर्मावलम्बी यो पर्व मनाउने गर्छन् । बज्र्राचार्य तथा शाक्यलाई चामल, धान, गहुँ, सानो केराउ, नुन, रोटी आदि दान गरी यो पर्व मनाइने चलन छ ।
यसरी दान गर्दा बहाबही अथवा घरका आँगनमा दीपंकर बुद्धका मूर्ति, देवदेवी तथा पौभा चित्र सजाएर पञ्चदान गर्ने परम्परा छ । काठमाडौंसहित भक्तपुर, साँखु, बुंगमतीलगायत स्थानमा दीपंकर बुद्धको मूर्ति अगाडि राखेर शाक्य, बज्राचार्य समुदायले बिहीबार पञ्चदान पर्व मनाएका छन् ।
यसअघि, श्रावण शुक्ल अष्टमीका दिन ‘यल पञ्चदान’ पर्व मनाइएको थियो । ललितपुर पाटनमा मनाउने भएकाले यसलाई ‘यल पञ्चदान’ भनिएको हो ।
‘स्वार्थमा रुमलिएको मानव त्याग गरेर अरूलाई पनि बाडौं’ भन्ने संस्कति विकास यो पर्वले गरेको छ,’ संस्कृतिविद् डा चुन्दा बज्राचार्य भन्छिन्, ‘दान गरेको खण्डमा दुःख, कष्ट नाश भई सुख शान्ति मिल्ने विश्वास छ ।’
बुद्ध धर्मका विभिन्न सिद्धान्तमा दान पनि महत्वपूर्ण भएकाले दान गरिने तर्क उनको छ । ‘बुद्ध धर्म अभ्यासमा दान नभई हुन्न,’ बज्राचार्यले भनिन्, ‘दानबिना मानिसको सच्चा चरित्र देखिँदैन ।’
१३–१४ वर्षअघि नै पञ्चदान पर्व लोप हुन लागे पनि अहिले बृद्धिजीवी मिलेर सामाजिक चाडका रूपमा मनन गर्दै सामूहिक रूपमा मनाउन थालिएको छ ।
‘दानका नाममा अनावश्यक वस्तु पनि दान गर्नाले धर्म र संस्कृतिमा नकारात्मक असर पर्न सक्छ,’ संस्कृतिविद् बज्राचार्यले भनिन्, ‘कतैकतै रक्सी पनि दान गर्ने चलन छ । जसले संस्कृतिमा नकारात्मक असर पर्नसक्छ ।’
प्रतिक्रिया दिनुहोस