
काठमाडौं । बीस वर्षअघि निधन भइसकेका कुमार खड्गविक्रम शाहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीविरुद्ध २९ करोड ८८ लाख ८१ हजार रुपियाँ बिगो दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
राजपरिवारका ज्वाइँसमेत रहेका शाहको २०५८ साल जेठ १९ गतेको राजदरबार हत्याकाण्डमा निधन भएको थियो । कर्मचारीलाई प्रलोभनमा पारेर शाहले धनुषाको पिडारी चोकस्थित रत्नसागर मन्दिरको जग्गा आफ्नो नाममा ल्याएको आयोगको आरोप छ ।
फौजदारी कार्यविधि संहिताले निधन भएका व्यक्तिलाई जेल र जरिवानाको सजाय हुन नसक्ने व्यवस्था गरेको छ । उक्त सहिताले अपराधीसँगै अपराध पनि मर्दछ भन्ने न्यायको सर्वमान्य सिद्धान्तलाई अङ्गीकार गरेको छ तर भ्रष्टाचार निवारण ऐनले भने निधन भइसके पनि व्यक्तिको हकमा सरकारी वा निजी विगो, क्षतिपूर्ति वा रकम भराउन सकिने व्यवस्था गरेको छ । सोही व्यवस्थाबमोजिम शाहलाई कारबाहीको माग गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सो व्यवस्थाअनुसार बिगो दाबी गरिएको रकम शाहको नाममा रहेको कुनै सम्पत्ति वा उनको नामबाट नजिकको हकवालाको नाममा गएको भए सोही सम्पत्तिबाट असुल गर्न आयोगले माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस