aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

अर्थमन्त्रीले नटेरे सडकमा उत्रिन व्यवसायीलाई संसदीय समितिको सल्लाह

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • शुक्रबार, १० भदौ २०७९
अर्थमन्त्रीले नटेरे सडकमा उत्रिन व्यवसायीलाई संसदीय समितिको सल्लाह

विराटनगर । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले असमान करका कारण बन्द भएका जीआई वायर र सेनेटरी प्याड उद्योगको अवलोकन भ्रमण गरेका छन् । भ्रमणपछि आयोजित छलफल कार्यक्रममा सभापति श्रीवास्तवले विभेदपूर्ण करको दर सच्याउन पुनः अर्थमन्त्रीलाई निर्देशन दिने बताए ।

अर्थमन्त्रीले टेरेनन् अथवा समिति/उपसमिति गठन गरेर समय घर्काउन खोजे भने सडकमा ओर्लिन पनि उनले उद्योगीलाई सुझाव दिए ।

प्रधानमन्त्री र नेकपा माओवादी केन्द्रका अध्यक्षले शर्मालाई पुनः अर्थमन्त्री नियुक्त गर्नुका पछाडि व्यक्तिगत लाभको उद्देश्य रहेको दाबी गर्दै सभापति श्रीवास्तवले भने, ‘के यो देशमा अर्को इमानदार मानिस तिनै पार्टीभित्र अर्थमन्त्री हुनलायक कोही थिएनन् रु’ अर्थमन्त्री जनार्दन शर्मा मुलुकको विकासमा भन्दा बढी व्यक्तिगत लाभमा र आफ्ना पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई रिझाउन लागेकाले केही उद्योगलाई नाफा दिएर अन्य उद्योग बन्द हुने गरी करको दर हेरफेर गरेको श्रीवास्तवले आरोप लगाए ।

समितिका सदस्य प्रकाश रसाइलीले आफूले पहिले गुल्जार देखेको उद्योगमा अहिले जाँदा खिया र माकुराको जालो भेटिएको बताए । अर्थमन्त्री शर्माले बजेटमार्फत ल्याएको असमान करनीतिका कारण जीआई वायर र सेनेटरी प्याड उद्योग बन्द हुँदा हजारौं मजदूरको रोजगारी खोसिएको उनले बताए । संसदीय समितिले बोलाएर करको दर घटाउन निर्देशन दिँदा पनि अर्थमन्त्रीले नटेरेको भन्दै रसाइलीले थपे, ‘केही उद्योगीलाई पोस्ने गरी आएको नीतिले राष्ट्रिय अर्थतन्त्रमाथि नै खेलवाड भएको छ ।’

गतवर्ष अर्थमन्त्रीले स्पन्ज आइरनको आयातमा कर छूट दिएर २२ ओटा आइरन उद्योगलाई धराशयी बनाएको तथा यो वर्ष सेनेटरी प्याड र जीआई वायर उद्योग बन्द हुने गरी करको दर हेरफेर गरेको रसाइलीले बताए । ‘यसबाट अर्थमन्त्री निकै राम्रो आर्थिक लाभ प्राप्त गर्ने बाटोमा अघि बढेको संकेत मिलेको छ,’ रसाइलीले भने, ‘जुन देशको अर्थतन्त्र बलियो हुँदैन त्यहाँ कुनै पनि व्यवस्था टिक्न सक्दैन । अर्थमन्त्रीको काम गणतन्त्रमाथिकै प्रहार हो ।’

अर्थमन्त्री शर्माको करनीतिका कारण सेनेटरी प्याडबाट १ अर्ब र जीआई वायरबाट ४ अर्ब गरी वार्षिक ५ अर्ब रुपैयाँ राजस्व मुलुकले गुमाउने उनको दाबी छ । तर, जीआई वायर र सेनेटरी प्याडको आयातबाट त्यो क्षति परिपूर्ति नहुने रसाइलीले बताए । ‘दर्जनौं उद्योग बन्द छन्, लगानी जोखिममा छ । दुई हजारभन्दा बढी मजदूर बेरोजगार भएका छन् । तर, अर्थमन्त्री यसलाई सामान्य रूपमा लिन्छन्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस