aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

भाजपा नेत्री तथा ‘टिकटक स्टार’ फोगाटको बलात्कारपछि हत्या

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ भदौ २०७९
भाजपा नेत्री तथा ‘टिकटक स्टार’ फोगाटको बलात्कारपछि हत्या

नयाँदिल्ली । भारतीय जनता पार्टीकी नेतृ सोनाली फोगाटको हत्यामा संलग्न भएको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । फोगाटको शव परीक्षण (पोष्टमार्टम)का क्रममा शरीरमा ‘कैयौँ चोट’ भेटिएको रिपोर्ट अस्पतालले दिएको छ । 

फोगाट भूतपूर्व ‘टिकटक स्टार’ पनि थिइन् । उत्तर भारतस्थित हरियाणा राज्यकी उनी भारतीय जनता पार्टीको तर्फबाट सन् २०१९ को राज्य विधानसभामा पराजित उम्मेदवार थिइन् ।  

प्रहरीका अनुसार सन्दिग्ध ती दुवै जनालाई बिहीवार साँझ पक्राउ गरिएको हो । पारिवारिक स्रोतका अनुसार सीसीटीभीद्वारा खिचेको दृश्यमा उनसँगै रहेका दुईमध्ये एक जनाले जबरजस्ती कुनै पदार्थ सेवन गराएको देखिएको छ । उक्त पदार्थ नशालु हुन सक्ने प्रहरीको अनुमान छ । 

पश्चिमी राज्य गोवा भ्रमणका बेला यही अगस्ट २२ गते मृत्यु भएकी फोगाट ४२ वर्षकी थिइन् । प्रारम्भिक रिपोर्टमा हृदयाघातका कारण निधन भएको बताइएको थियो । तर परिवारले उक्त दाबीलाई अस्वीकार गर्दै फोगाटकै सहयोगीहरूले बलात्कार पछि हत्या गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस