aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

समयमा सडक पिच हुन नसक्दा स्थानीयसँगै यात्रु आक्रान्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३२ साउन २०७६
समयमा सडक पिच हुन नसक्दा स्थानीयसँगै यात्रु आक्रान्त

काठमाडौं । त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकअन्तर्गत थानकोटस्थित चेकपोस्ट चोकमा सडक निर्माणकोे काम अलपत्र छाडिएपछि स्थानीय धुलोबाट आक्रान्त बनेका छन् । समयमा सडक पिच हुन नसक्दा स्थानीयसँगै यात्रु धुलोको मारमा परेका हुन् ।
ठेकेदार र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको ढिलासुस्तीका कारण काम अलपत्र परेको हो। चेकपोस्ट चोकमा फुटपाथको काम नसक्दा सर्वसाधारण खाल्डोमा पर्ने उच्च जोखिम छ ।

ढलको राम्रो व्यवस्थापनसमेत हुन सकेको छैन । केही स्थानीयले घर नभत्काउँदा काम अघि बढ्न सकेको छैन ।
समयमा ठेकेदारले काम नगर्दा धुलोबाट सास्ती भोग्नुपरेको स्थानीयको गुनासो छ । सतुंगलमा पनि सडकको पिच उप्केको छ । त्यहाँ उड्ने धुलोले पनि यात्रु र स्थानीय आक्रान्त छन् ।
चेकपोस्टका गोपाल त्रिपाठीले ठेकेदार र उपत्यका सडक विस्तार आयोजनाले सडक निर्माणमा बेवास्ता गर्दा समस्या भएको बताए ।  ‘ठेकेदार र आयोजनाले काम अलपत्र छोड्दा धुलो खाएर बस्नुपरेको छ,’ उनले भने, ‘धुलोले स्वास्थ्यमा गम्भीर असर गरेको छ ।

घाम लागेका बेला उड्ने धुलोले दिउँसै अन्धकार देखिन्छ । पानी पर्दा सडक हिलाम्ये हुन्छ । सडक पेटीको काम नहुँदा खाल्डा परेका छन् । बालबालिका त्यहीं लड्छन् । धुलोबाट बच्न माक्स लगाएर हिँड्नुपर्ने बाध्यता छ ।’ यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस