
काठमाडौं । पितालाई सम्मान–भक्ति प्रकट गर्दै आज शनिबार बुबाको मुख हेर्ने दिन मनाइँदै छ । अन्धकाररूपी संसारमा ज्ञान एवं कर्मको दिव्यज्योति प्रदान गरेर अघि बढ्न सिकाउने गुरुका रूपमा रहेका पितालाई मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडालगायत दिँदै सम्मान गरिन्छ ।
भाद्र कृष्ण कुसे औंसीमा बाबुको सम्मान गरिने परम्परा छ । बुबालाई पिता, बाबा, तात, ड्याडी, पापा शब्दले चिनिन्छ । यस दिनलाई अर्को शब्दमा पितृऔंसी, पितृ दिवस, गोर्कण औंसी, कुसेऔंसी पनि भनिन्छ । आमापछिको द्वितीय गुरुका रूपमा पितालाई शास्त्रले वर्णन गरेको छ ।
महत्वपूर्ण धार्मिक कार्य गर्नुअघि पनि पितृकै स्मरण गर्ने चलन छ । पितालाई संरक्षण, रक्षा र पालनपोषण गर्ने चरित्रका रूपमा शास्त्रमा उल्लेख छ ।
औंसीका दिन आफूलाई कर्म दिने मुख हेर्न छोराछोरी बुवा भएको ठाउँमा पुग्ने गरेका छन् । बुबालाई भेट्दा आफ्नो क्षमताअनुसार मिठाई, लड्डु तथा विभिन्न खाद्यपदार्थ खुवाउने चलन छ ।
पिता जीवित हुनेले मिठामिठा परिकार बनाएर खुवाउँछन् । लुगाफाटो तथा विविध उपहार दिएर पितालाई खुसी बनाउँछन् । विवाहित महिलाले माइतमा गएर बुबाबाट आर्शिवाद लिने चलन छ ।
औंसीका दिन बाबु नहुनेले विभिन्न तीर्थस्थलमा गई तपर्ण तथा श्राद्ध गर्ने परम्परा छ । यसपटक अघिल्लो दिन शुक्रबारै औंसी तिथि परेकाले काठमाडौं, ललितपुर र आसपासका बासिन्दाले शुक्रबार गोकर्णमा गई श्राद्ध तथा तपर्ण गरेका छन् ।
उत्तरगयाका रूपमा परिचित गोकर्णेश्वर महादेवथानमा श्राद्ध गरी पिण्डदान गर्नाले त्यसले मातृकुल, पितृकुल, बन्धु–ससुराली कुलादि सय कुलको उद्धार हुने धार्मिक विश्वास रहिआएको छ ।
प्रतिक्रिया दिनुहोस