
जुम्ला । स्थानीय सरकारले जथाभावी निर्माण गरेका ग्रामीण सडकका कारण कर्णाली राजमार्ग अस्तव्यस्त बनेको छ । जहाँ पायो त्यहींबाट शाखा सडक खोल्दा खसेका पहिरोका कारण राजमार्ग असुरक्षित बन्दै गएको छ ।
सामान्य वर्षा हुनेबित्तिकै पहिरो जान थालेको स्थानीय बताउँछन् । जुम्लाबाट सुर्खेत झरेका शेरबहादुर बोहोराले भने, ‘ग्रामीण सडकले गर्दा राजमार्ग धरापजस्तै भएको छ ।
स्थानीय सरकारले बनाएका सडकका कारण राजमार्ग अस्तव्यस्त बनेको छ । हचुवामै खनिएका स्थानीय सडकका कारण राजमार्गमा ठाउँठाउँमा पहिरो झर्दा यात्रुले सास्ती बेहोर्नु परेको छ ।’ उनले आफू सुर्खेतबाट फर्किंदा शेराबाडानजिकै पहिरोले चार घण्टा रोकिनुपरेको बताए ।
जथाभावी डोजर लगाएका कारण वर्षा हुनेबित्तिकै पहिरो खस्ने गरेको छ । ग्रामीण सडकका कारण राजमार्गको कालिकोट खण्डमा बढी क्षति पुगेको छ ।
बोहोराले भने, ‘कर्णाली राजमार्ग संघीय सरकारले हस्तान्तरण नगरेको भन्दै प्रदेश सरकारले रकम हाल्न मान्दैन । संघीय सरकारले कर्णालीको व्यथा सुन्दैन । स्थानीय सरकारले विकासका नाममा विनाश निम्त्याउन थालेका छन् । त्यसको प्रत्यक्ष मार यात्रुले खेपिरहेका छन् ।’ यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस