
काठमाडौं । आफू गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्री भएका बेला रामशरण बस्नेतले गोरखाको सिरानचोक गाउँपालिका–५ जरेवरमा सिँचाइ सुविधा पुर्याउन लिफ्ट सिँचाइ योजनाका लागि २०७५ सालमा बजेट विनियोजन गरिदिए । निर्माण कम्पनी र उपभोक्ता समितिबाट गरी करिब ६० लाख रुपैयाँबराबरको काम भयो । तर निर्माण कम्पनीले योजना बुझाएको अर्को दिनदेखि लिफ्ट चलेको छैन । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयबाट निर्माण भएको यो योजनाबाट जरेवर क्षेत्रको २० हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य थियो । तर एक दिन पनि किसानको खेतमा यो योजनाबाट पानी पुगेको छैन । जरेवरमा तत्कालीन मन्त्री बस्नेतको पनि खेत छ ।
उक्त योजना अलपत्र परेकै बेला तत्कालीन मन्त्री बस्नेतले आर्थिक वर्ष २०७७÷७८ मा सोही ठाउँमा भूमिगत डिप ट्युबवेल सिँचाइ प्रणाली नाम दिएर अर्को योजना पारे । एकै ठाउँमा फरकफरक योजनामा बजेट छुट्याउनुको कारण उनीसहित बस्नेत परिवारको खेत त्यहाँ धेरै हुनु हो । डिप ट्युबवेल पूर्वमन्त्री बस्नेतकै खेतमा बनाइएको छ । यसअघि निर्मित लिफ्ट सिँचाइ योजना र भूमिगत डिप ट्युबवेल योजनाबाट सिँचाइ गर्ने भनिएको क्षेत्र एउटै हो । तर भूमिगत डिप ट्युबवेलबाट अहिले पानी आएको छैन । डिप ट्युबवेल संरक्षण नहुँदा उम्रिएको घाँसले ढाकेको छ । बर्खाको समयमा पानी अभाव नभएकाले ट्युबवेल नचलाएको दाबी उपभोक्ता समितिका अध्यक्ष दीपेन्द्र बस्नेतको छ । ‘चलाउने हो भने पानी आउँछ’, उनले भने ।
भूमिगत डिप ट्युबवेल योजनामा ५८ लाख ५१ हजार रुपैयाँ खर्च भइसकेको भूमिगत जलस्रोत तथा सिँचाइ कार्यालय पोखराका प्रमुख नारायणकृष्ण गणेशले बताए । यसअघि पनि सोही क्षेत्रमा लिफ्ट सिँचाइ योजना बनेको विषयमा भने उनले अनभिज्ञता जनाए । तत्कालीन मन्त्री बस्नेतले खेतमा मात्र होइन, गोरखा नगरपालिका–३ नारेश्वर घलाङस्थित घरछेउमा पनि नयाँ योजना निर्माण गराएका छन् । अध्ययन तथा अनुसन्धानका लागि भन्दै उनले इन्भेस्टिगेसन डिप ट्युबवेल निर्माण गराएका हुन् । ३३ लाख १६ हजार रुपैयाँ यो योजनामा खर्च भइसकेको छ । तर त्यहाँबाट पनि अहिले पानी निकालिएको छैन। घलाङमा डिप बोरिङ र विद्युत्को काम मात्रै भएको छ ।
प्रतिक्रिया दिनुहोस