aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

यसरी मनाउँदैछन् आर्थिक क्षेत्रका उच्च पदस्थ महिलाहरूले तीज

  • सम्झना बरुवाल
    सम्झना बरुवाल
  • आइतबार, १२ भदौ २०७९
यसरी मनाउँदैछन् आर्थिक क्षेत्रका उच्च पदस्थ महिलाहरूले तीज

काठमाडौं । नेपाली हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै छ । तीजका लागि सर–समान किनमेल गर्नेको भिडले बजार तातिरहेको छ । अधिकांश फेन्सि पसल, कस्मेटिक पसल, पाटी प्यालेसदेखि सुपर स्टोरसम्म तीजको चहलपहल बढेको देखिन्छ । 

त्यससँगै दिदी बहिनीहरूको जमघट, दर खाने कार्यक्रमका आकर्षक तस्बिरले सामाजिक सञ्जालका भित्ता समेत रङ्गीचङ्गी छन् । यहाँ हामीले आर्थिक क्षेत्रको उच्च पदस्थमा रहेका महिलाहरूले यस वर्षको तीज कसरी तीज मनाउँदैछन् भन्नेबारे प्रस्तुत गरेका छन् । यस्तो छ उद्यमी तथा व्यवसायी महिला, बैंकर, सहकारी र शेयर बजारका क्षेत्रमा रहेका महिलाहरूको तिजसँग सम्बन्धित विचार:  

‘चाडपर्व भनेको फेसन देखाएर हिँड्ने होइन, सुहाँदिलो तरिकाले मनाउने हो’ 

कमला श्रेष्ठ, अध्यक्ष, सौन्दर्यकला व्यवसायी महासंघ    

अघिल्लो वर्षको तीज कोरोनाको कारणले मनाउन पाइएन । यो एउटा नारीहरूको विशेष चाड हो । यो वर्ष सबै जना खुलेर मनाउने तरखरमा छन् । हाम्रो संघले पनि सबै जिल्लाहरूमा रमाइलो गरेर मनाईरहेका छन् । पछिल्लो समय तीज भड्किलो पनि बन्दै गइरहेको यस्ता गतिविधिहरु मलाई पनि राम्रो लाग्दैन । चाडपर्व भनेको फेसन देखाएर हिँड्ने होइन । तर, पनि अहिलेका युवापुस्ताहरुलाई हामी रोक्न पनि सक्दैनौं । उनीहरुको इच्छा विपरित पनि जान मिल्दैन । सकेसम्म सबै जनाले सुहाँदिलो तरिकाले मनाउनुपर्छ ।  

परम्परादेखि नै आमा र दाजुभाइले निम्तो गरे माइती जाउँला रमाइला गरौला भन्ने परम्परा चलिरहेको हो । त्यो संस्कृतिमा पछिल्लो समय थोरै परिवर्तन गरेर माइती मात्रै सीमित नराखी नेटवर्क बढाउने र सम्पर्क बढाउने चलन पनि आएको छ । यो एउटा राम्रो पक्ष पनि हो ।  विभिन्न संघका महिलाहरूको भेटघाट भएको बेला व्यापार व्यवसायका विषयमा पनि छलफल गर्न सकिन्छ । हाम्रो व्यापारको सीमित दायरा पनि फराकिलो हुन्छ । एक अर्काका सुख दुःख बाँड्न सकिन्छ । 

समय अनुसार परिवर्तन हुनुपर्छ एउटै परम्परालाई सँगै लिएर जानु पनि भएन । तर, परम्परालाई तोडेर लान्छु भन्न सकिँदैन । अहिले सामाजिक सञ्जालले सबै कुरालाई नजिक बनाएको छ । यसले गर्दा पनि केही परिवर्तन आएको हो । तर, पनि दर खाने चलन अझै छ हामी जुनसुकै जात धर्म भए पनि सबैले मिलेर आफ्नो संस्कारलाई जोगाउनु पर्छ । जुन समयमा जे कुराको महत्त्व छ त्यसलाई जोगाएर राख्नुपर्छ ।  

‘म तीज भड्किलो र फेसन गरेर मनाउँदिन’  

शोभा ज्ञवाली, प्रथम उपाध्यक्ष, महिला उद्यमी महासंघ   

पहिला पहिला तीजमा महिनौँदेखि नाच्ने गाउने चलन चलिरहेको थियो । पछिल्लो समयमा तीजलाई फेसनको रूपमा पनि लिइयो । तर, पछिल्लो समय समाजमा धेरै तडकभडक गरेर तीज मनाइएको पाइएको छ त्यो राम्रो होइन । चाडपर्वलाई त्यही रूपमा परिवार जम्मा भएर हाँसी खुसी मनाउनुपर्छ । यसपालिको तीजमा भने म एक दुई दिन आफ्नो दिदीबहिनी र माइतीमा गएर मनाउने छु । भड्किलो र फेसन गरे मनाउँदिन । समाजमा साधारण तरिकाले संस्कृति बचाउनका लागि चाडपर्व मनाउने हो । निश्चित सिमामा रहेर मनाउनुपर्छ । 

पछिल्लो समय साउन महिनादेखि तीज सकिएको एक महिनासम्म पनि तीनको पार्टी देखिएको छ । यो सक्नेले गर्ने हो नसक्नेले गर्न सक्दैन । मैले सक्छु भन्दैमा जे पनि गर्दै जानु हुँदैन । समाजलाई पनि सहयोग गर्ने तरिकाले न्यूनतम खर्चमा सौहार्दपूर्ण वातावरणमा मनाइने तीजलाई मान्यता दिन्छु । यसपालिको तीजमा मिलेसम्म वृद्धा आश्रमका आमाहरूसँग हामी सबै मनाउन जोड दिन्छौँ । 

तीज भनेर मान्छेहरूले पार्टी गर्ने गीतहरू पनि त्यस्तै गाउने गर्नुभएन । तीज किन मनाइन्छ र यसको महत्त्व के छ भन्ने कुरालाई पनि ध्यानमा राखेर तीजको महिमालाई जान्नुपर्छ । वर्षा याम सकिएसँगै हिउँद लाग्यो हरियाली छाउन थाल्छ । घर आँगन पनि उज्यालो हुन्छ ।  परम्परा कालदेखि भगवानको आराधना गर्ने, महिमा राख्ने चलन हो । अदृश्य शक्तिमा पनि शक्ति छ । भोको पेट बसेर तीज मनाउने चलन छ । तसर्थ साधारण तरिकाले आफ्नो चाडपर्वलाई संस्कृति अनुसार नै जोगाउनुपर्छ । आउने पुस्तालाई पनि यो संस्कार छोडेर जानुपर्छ ।

‘पछिल्लो समयमा भड्किलो नभएको कुनै पनि चाडपर्व छैन’ 

बन्दना पाठक, डेपुटी सिइओ, एनसीसी बैंक

तीज म विशेष गरी म सधैँ माइतीमा गएर आमासँग मनाउने गर्छु । पहिला पहिला तीज भनेको सबै परिवारको विवाहित छोरीहरू आएर मनाउने चलन थियो । अहिले बिस्तारै परिणत हुँदै गयो । पहिलेको तीजमा निराहार व्रत बसे पनि अहिले म भोको पेट बस्दिन पानी, जुस खाएर नै बस्छु । बेलुकीपख पूजा गरेर भोलिपल्ट पूजा गरेर खाना खाइन्छ । रातो पहिरन लगाएर आफूसँग एका अलिअलि गहना लगाएर नाचिन्छ पनि । 

पछिल्लो समयमा भड्किलो नभएको कुनै पनि चाडपर्व छैन । हामीले भड्किलो गर्न हुन्छ हुँदैन भन्दा पनि अरूको इच्छाको कुरा हो । सबै जना बसेर रमाइलो गर्छन् भने त्यसमा हामीलाई के आपत्ति भयो र समाजमा देख्नका लागि त भड्किलो नगरेको राम्रो हो । जहाँ इच्छा त्यहाँ उपाय यसमा त केही भन्नु छैन ।  

पहिला पहिलाको दिनमा पानी पनि नखाईकन बस्ने चलन थियो । पछिल्ला दिनहरूमा आफ्नो शरीरको पनि ख्याल गर्नुपर्छ भन्ने आयो त्यसले गर्दा मान्छेले फलफूल र जुस खाएर पनि बस्छन् । आस्थाको कुरा हो पूजा त सबैले गर्छन् । हरेकको चलन र संस्कार फरक फरक हुन्छ । जसले जसरी सिकेका हुन्छन् त्यसरी नै गर्छन् । धर्म मासिँदै गएको हो भन्न पनि धेरै गाह्रो छ । सामाजिक सञ्जालमा हेर्ने हो भने धेरै धर्म गरेको जस्तो देखिन्छ तर वास्तवमा के हो हामीलाई थाहा हुँदैन । 

‘धर्मका नाममा भएका नराम्रा कुराहरूलाई भत्काउनु पर्छ’ 

राधा पोखरेल, अध्यक्ष, नेपाल पुँजीबजार लगानीकर्ता संघ

पछिल्लो समय तीज अलि भड्किलो बन्दै गएको छ । विभिन्न ठाउँमा तीजका कार्यक्रमहरू भइरहेका छन् । आफू एउटा अभियन्ता भएका कारण पनि ती कार्यक्रमहरूमा पनि जानुपर्ने हुन्छ । हाम्रा धर्म र संस्कृतिहरूका कतिपय राम्रा पनि छन् कतिपय नराम्रा पनि छन् । पहिलाको समयमा चेलीबेटीहरू माइती जान पाउँदैन थिए ।  दुःख र पिरमा हुन्थे । माइती जाने बहाना तीज मात्र हुने गर्थ्यो । त्यस बेलाको तीजको महत्त्व नै फरक थियो । तर, पछिल्लो समयमा तीजको महिमालाई भुल्दै गएको देखिन्छ । विभिन्न कार्यक्रम गर्ने मदिरा सेवन गर्ने तडकभडक गर्ने जस्ता प्रवृत्तिहरू हुने गरेका छन् । 

विगतका वर्षहरूमा दर खाने दिन मात्र दर खाएर तीज मनाउने गरेको थिए भने अहिले म संघिय सांसदको पनि उम्मेदवार भएको कारण र शेयर बजारको अध्यक्ष भएको कारण पनि सबै जानले आयोजना गरेको कार्यक्रमहरूमा बोलाउनु हुन्छ । मैले भने कुर्न पनि कार्यक्रमको आयोजना गरेको छैन । शुभकामना आदान प्रदानको कामहरू भइरहेको छ । व्रतको दिन पनि विवाहित नारीहरूले श्रीमान्को लामो आयुको कामना गरेर व्रत बस्छन् भने कुमारीहरूले पनि राम्रो पति पाउनका लागि व्रत बस्छन् भन्ने छ त्यो कुरालाई चैँ म मान्दिन । किन भने महिलाहरू सक्षम र योग्य बन्न सके भने आफैले छानेर नि पति पाउन सकिन्छ । धर्मको नाममा महिलाहरूले मानव विरोधी कुराहरू पनि भोगिरहेका छन् । धर्ममा भएका राम्रा कुराहरूलाई लिएर नराम्रा कुराहरूलाई भत्काउनु पर्ने पनि हुन्छ । पानी नै नखाएर व्रत बस्ने म गर्दिन । खान नखाए पनि अरू फलफूलहरू खाएर व्रत बस्ने गरेको छु । 

हाम्रो संस्कृतिमा भए कतिपय कुराहरुलाई जगेर्ना गर्नुपर्ने पनि हुन्छ । राम्रा कुराहरूलाई लिएर हिँड्नु पर्ने हुन्छ भने नराम्रा कुराहरूलाई छाड्दै पनि जानुपर्छ । म तीजको दिन जन्मिएको बेला मेरो आमालाई तिम्रो श्रीमान्को लागि आज व्रत हो, भन्दै पानी पनि खान दिइएको थिएन रे । मानवता विरोधी कुराहरू बोकेर हिँड्नु हुँदैन । पछिल्लो समय चाडपर्वको नाममा विकृति पनि मौलाउँदो छ । त्यसलाई भने हामी सचेत महिलाहरूले निर्मूल गर्नुपर्छ । हुने खानेले त गर्छन् तर नहुनेले पनि देखासिखिको भरमा चाडपर्व मनाउँदा घर चलाउन पनि मुस्किल हुन्छ । तसर्थ यस्ता कुराहरूलाई हामीले नै निर्मूल पार्दै लैजानुपर्छ । चाडपर्वको नाममा दिन दिन कै पार्टी  भोज गर्ने पैसा थोरै भए पनि बचत गर्ने बानी बसाले भोलिका दिनहरूमा आफूलाई पनि सहज हुन्छ । 

‘तीजको मलाई धेरै नै आस्था लाग्छ म व्रत बस्छु’

ओमदेवी मल्ल, वरिष्ठ उपाध्यक्ष, राष्ट्रिय सहकारी महासंघ 

घरमा पुजा गरेर साधारण तरिकाले नै तीज मनाउने गरेको छु । अरू खानेकुराहरू केही नखाई पानी चैँ खाएर व्रत बस्ने गरेको छु । साँझमा बत्ती बालेर पूजा गरेर जान्छु मन्दिरमा जान लाई धेरै भिड हुने भएकाले जाँदिन । कोरोनाका कारण दुई वर्ष तीजको चहलपहल र तडकभडक बन्द भएको थियो । यो वर्ष भने केही चहलपहल भइरहेको छ । वर्ष दिनको चाड हो विभिन्न संघ संस्थाहरूमा महिला पनि आबद्ध भएको कारणले तीज विशेष कार्यक्रमहरू गरिदिँदा महिलाहरूलाई पनि उत्सुकता पनि हुने यस्तो कार्यक्रमको आयोजना गरिदिए भनेर खुसी पनि हुने गर्छन् । 

म एउटा सहकारीमा आबद्ध भएको मान्छे । कुनै एउटा सहकारीले तीज विशेष कार्यक्रमको आयोजना गरिदियो भने महिला पनि खुसी हुने गरेका छन् । तर, पछिल्ला दिनहरूमा धेरै कार्यक्रम र पार्टी गर्ने गर्दा लगाउने कपडा देखि लिएर धेरै कुराहरूमा विकृति देखिँदै गएको छ । म एउटा आध्यात्मिक तिर पनि आस्था राख्ने मान्छे । तीजलाई ठुलो महत्त्वको रूपमा लिने गरेको छु । तीजलाई नारी शक्तिको रुपमा पनि लिइन्छ । नारीले आफ्नो इच्छा र स्वतन्त्रता अनुसार बाँच्न पाउनुपर्छ । सत्ययुगमा पनि पार्वतीले महादेवलाई पाउनका लागि कठोर तपस्या गरेकी थिइन् । रातो रङ्ग एउटा जीवन हो । सत्ययुगमा पार्वतीले पनि आफ्नो इच्छा र स्वतन्त्रताका लागि त्यति तपस्या गरेकी थिइन् । हामीले पनि त्यसलाई शक्तिको रूपमा बदलेर एकाइसौं शताब्दीको महिला बन्नुपर्‍यो । 

आफूले काम गरेको क्षेत्रमा निर्णय गर्न सक्ने क्षमता र प्रमुख तहमा हामी जान सकिन्छ भन्ने तर्फ लाग्नुपर्छ । आज आर्थिक र वित्तीय क्षेत्रका प्रमुख तहमा महिला नेतृत्वको कमी छ । अझै पनि महिलाहरू माथि उठ्न सकेका छैनन् । अरूको भरमा नै निर्भर रहेका छन् । हामी आर्थिक रूपमा कसरी अगाडी बढ्न सक्छौँ । त्यसतर्फ ध्यान दिनुपर्छ । कसरी स्वावलम्बी बन्न सक्छौ भन्ने तिर लाग्नुपर्छ । सानोतिनो व्यवसायको सुरुवात गर्नु पर्यो  । कुनै उद्योगधन्दाहरू पनि सञ्चालन गर्नुपर्‍यो । कुनै पनि क्षेत्रमा विज्ञ हुनका लागि अध्ययन गर्नुपर्छ । आफूलाई विकास गर्दै लगेर अहिलेको शताब्दीमा विश्वका हरेक प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्न सक्ने र आत्मनिर्भर भएर बाँच्न सक्ने महिलाको रूपमा हामीले रातो रङलाई शक्तिको रूपमा रूपान्तरण गरेर लानुपर्छ । 

तीजको मलाई धेरै नै आस्था लाग्छ म पनि व्रत बस्छु । घरमा श्रीमान् भएको बेला उहाँलाई ढोगेर पानी खाएर बस्छु । पहिलेदेखि चलिआएको कुरालाई निरन्तरता दिनु नराम्रो कुरा होइन । तर, आजभोलि पूजाआजा धर्म संस्कृति भन्दा पनि फेसनको रूपमा लिइएको छ । मन्दिरमा जाँदा पनि देखावटीपन र तडकभडक धेरै भएको छ  । समाजमा सबै महिलाहरू एउटै स्तरका र आर्थिक रूपमा सम्पन्न हुँदैनन् । पछिल्लो समयको तीजमा धर्मको नाममा तडकभडक धेरै भएको छ । पहिलाका गीतहरू पनि मार्मिक र चेतना मुलक हुने गर्थे । अहिले त्यस्ता गीतहरू पनि कम छन् । पुरुषका गीतहरू पनि उत्तिकै आई रहका छन् । तसर्थ बाटो अलिअलि बिराउन लागेको हो कि भन्ने लाग्छ । संस्कृति र चाडपर्व केका लागि हुन् भन्ने तर्फ पनि हाम्रो ध्यानाकर्षण हुनुपर्छ । 

 

प्रतिक्रिया दिनुहोस