
काठमाडौं । समायोजनसँगै सुदूरपश्चिम प्रदेशका अस्पताल डाक्टरविहीन हुन थालेका छन् । नवौं, दसौं र एघारौं तहका अधिकांश डाक्टरले संघ रोजेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरूलाई पदस्थापन गर्न थालेको छ । यहाँबाट ११ विशेषज्ञको पदस्थापन अन्य प्रदेशमा भएको छ । अन्यत्रबाट भने एक जना मात्रै पदस्थापन हुने सूची प्रकाशन भएको छ ।
सेती अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेयले समायोजनको पत्र आएको १० दिन नाघेको बताए । ‘रेफरल अस्पतालका रुपमा रहेको सेती अञ्चल अस्पताल खाली हुने भएकाले हामीले रमाना दिएका छैनौं’, उनले भने, ‘तर, २१ दिनभित्र रवाना दिनै पर्ने प्रावधान छ ।’
उनका अनुसार संघ र प्रदेशको सामाजिक विकास मन्त्रालयमा समायोजन भएकाले अस्पताल डाक्टरविहीन भइरहेको विषयमा पत्र पठाइएको छ ।
सेतीमा २४ जनाको दरबन्दीमा तीन जना मात्रै बाँकी रहने भएका छन् । ११ औं तहका डाक्टर पाण्डेय, १० औं तहका खगेन्द्र भट्ट र नवौं तहका जगदीश जोशीबाहेकका डाक्टरको सरुवा भइसकेको छ ।
प्रशासनका अनुसार नाक, कान, घाँटी रोग विशेषज्ञ ११ औं तहका अशोक श्रीपाइली, फिजिसियन तथा १० औं तहका शेरबहादुर कमर, नवौं तहका दिनेश शिवाकोटी, नवौं तहकै होमप्रसाद पन्त र सुरेन्द्र बस्नेतको पदस्थापन भेरी अस्पतालमा भएको छ ।
१० औं तहका कपिल गौतमको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्रमोद जोशीको पदस्थापन कान्ति बाल अस्पताल काठमाडौंमा भएको छ । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस