aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

आफ्नै छोरा कुट्नु पर्ने बाध्यतामा रहेका पिताको पीडा, पिट्नुपर्दा मुटु छियाछिया हुन्छ

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • मंगलबार, १४ भदौ २०७९
आफ्नै छोरा कुट्नु पर्ने बाध्यतामा रहेका पिताको पीडा, पिट्नुपर्दा मुटु छियाछिया हुन्छ

काठमाडौं । जन्मिनेबेलै स्वस्थ थिएनन् । उमेर बढ्दै गयो तर अन्य बालबालिकाभन्दा फरक लाग्न थाले । यो समस्या यी बालकले सात÷आठ वर्षदेखि नै झेल्दै आएका छन् ।

गुल्मी सत्यवती गाउँपालिकाका–५ हँसराका ११ वर्षीय रामु बुढाथोकीलाई अहिले पछ्यौराको दाम्लोमा झोलुंगो बनाएर बाँधेर राखिएको छ । आर्थिक अभावले उपचार गर्न नसकेपछि अभिभावक उनलाई पछ्यौराको दाम्लोमा बाँध्न बाध्य छन् ।

११ वर्षीय छोरा पछ्यौराको दाम्लोमा

आमा देउकुमारीले छोरा सम्हाल्न नसकेपछि १७ वर्षदेखि भारतमा मजदुरी गरिरहेका श्रीमान् कमललाई घरमै बोलाइन् । बालक रामुलाई उपचारका लागि बुटवल आम्दा, नेपालगन्ज हुँदै भारतसम्म पु(याइयो । तर, कत्ति पनि निको भएन ।

रामु आफैंलाई चिर्थोर्ने र कोपरेर शरीरलाई दुःख दिइरहन्छन् । त्यो उनलाई थाहै हुन्न । हिँड्न सक्छन् । नजिकमा विद्यालय पनि छ । तर, अहिलेसम्म विद्यालयको अनुहार देखेका छैनन् । होसमै छैनन्, रामु । अरूलाई बिगार गर्दैनन् । तर, आफैंले आफैंलाई निकै चोट दिइरहेका हुन्छन् ।

जेठो सन्तान रामुलाई घरको बलेनीमा हातखुट्टा बाँधेर झुन्ड्याउन बाध्य छन्, आबाबुबा । पछ्यौराको झोलुंगोमा हातखुट्टा मात्रै नभएर कम्मरमा समेत थुप्रैपटक बाँधिएको छ । परिवारको आँखा छलेर रामु आफूलाई टाउको भुइँमा ठोकेर रक्ताम्य बनाउँछन् । जसले गर्दा उनको टाउको र शरीरभर चोटैचोट छ ।

धेरै उफ्रिने र टाउको भुइँमा ठोकाउने भएकाले लौरो नभइकन सम्हाल्न नसकिने उनका बुबा कमल बताउँछन् । ‘कहिलेकाँही धेरै उफ्रने, कराउने र टाउको ठोक्नेलगायत समस्या हुँदा मैलेबाहेक कसैले पनि समाल्न सक्दैनन्,’ उनी भन्छन्, ‘लौरो देखाउने र कहिलेकाँही पिट्नु पनि पर्छ । बाध्यताले आफ्नै सन्तान पिट्दा मुटु छियाछिया बन्छ ।’

प्रतिक्रिया दिनुहोस