aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

एमालेले केपी ओलीलाई नै भावी प्रधानमन्त्रीका रुपमा अघि सार्नुका ६ कारण

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • मंगलबार, १४ भदौ २०७९
एमालेले केपी ओलीलाई नै भावी प्रधानमन्त्रीका रुपमा अघि सार्नुका ६ कारण

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्नुको मुख्य आधार उनले विगतमा गरेका काम नै रहेको बताइएको छ ।

एमाले प्रचार विभागद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा विभाग उपप्रमुख विष्णु रिजालले दुईपटक प्रधानमन्त्री भइसकेका ओलीले गरेका कामका आधारमा उनको व्यक्तित्वलाई लिएर प्रधानमन्त्रीका रूपमा अघि बढाइएको प्रस्टीकरण दिएका छन् ।

‘अध्यक्ष कमरेड केपी शर्मा ओली नै प्रधानमन्त्री बन्नुपर्नेमा उहाँको अडान, सपना र व्यक्तित्वका कारण नै हो,’ रिजालले भने, ‘आधुनिक नेपालको ७५ वर्षको इतिहास हेर्दा अध्यक्ष कमरेड ओली नेतृत्वको सरकारले गरेजति पनि काम नभएको र केही अपुरा भएकाले बाँकी रहेको विकास र समृद्धिको अधुरो सपना पूरा गर्न एमालेले यस्तो निर्णयमा पुगेको हो ।’

राष्ट्रिय स्वभिमानको प्रवद्र्धकका रूपमा ओली नेतृत्व आवश्यकता रहेको र वैदेशिक शक्ति सन्तुलनका हिसाबले एउटा सेतुका रूपमा रहेर काम गरेकोले, त्यो उचाईको नेता अवश्यक देखिएकाले एमालेले ओलीलाई नै प्रधानमन्त्री बनाउने निष्कर्षमा पुगेको दाबी उनको छ ।

‘अन्तर्राष्ट्रिय मञ्चमा केपी ओली जतिको अग्लो व्यक्तित्व अहिलेसम्म नेपालले प्राप्त गरेको छैन । समकालीन विश्वका नेतामध्ये केपी ओलीको व्यक्तित्व कम छैन,’ रिजालले भने, ‘यो नै ओली प्रधानमन्त्री हुनुपर्ने बलियो कारण हो ।’

ओली इतिहासको व्याख्याता मात्र नभई नेपालको कम्युनिस्ट आन्दोलनको निर्माता समेत भएको र कम्युनिस्ट आन्दोलनलाई विकाससँग जोड्ने र समृद्धि यात्रामा लाने सूत्रधार रहेको दाबी उनको छ ।

संघर्ष, त्याग र निरन्तरताको पर्याय रहेका र नेपालका समकालीन नेतामध्ये उच्च र सक्षम नेतृत्वकर्ता रहेकाले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने र ओलीलाई प्रधानमन्त्री बनाउने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस