aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

भिजिट भिसामा सङ्गठित गिरोह नै संलग्न भएको आशङ्का

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • बुधबार, १५ भदौ २०७९
भिजिट भिसामा सङ्गठित गिरोह नै संलग्न भएको आशङ्का

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाको आवरणमा हजारौँको सङ्ख्यामा खाडी मुलुक पठाएको घटनामा सङ्गठित गिरोह नै सक्रिय रहेको हुन सक्ने आशङ्का विज्ञहरूले राखेका छन् ।  

भिजिट भिसाको माध्यमबाट अधिकांश किशोरीका कागजपत्र नक्कली भेटिनु र सजिलै खाडी मुलुक पुगिरहेको घटनामा कतिपय म्यानपावर कम्पनी र तिनका दलालमार्फत विमानस्थलका कतिपय कर्मचारीको समेत मिलेमतो रहेको हुन सक्ने भएकाले निष्पक्ष छानबिनको माग गरिएको छ ।  

पूर्वगृहसचिव गोविन्द कुसुमले भिजिट भिसामा खाडी मुलुक जान लागेका यात्रुको कागजपत्र नक्कली हुनु र सयौँको सङ्ख्यामा उनीहरूलाई विमानस्थलबाट फिर्ता गरिएको घटनालाई सामान्य रूपमा लिन नहुने बताए । उनले यस प्रकारको गम्भीर घटनामा नेपाल सरकार तथा सम्बन्धित मन्त्रालयले आवश्यक छानबिन गरी सत्यतथ्य पत्ता लगाई दोषीलाई कडा कारबाही गर्नुपर्ने बताए । 

नेपाली युवालाई मानव तस्करले अन्य मुलुकका विभिन्न ट्रान्जिटबाट खाडी मुलुक पु(याउने गरेको पाइएको थियो तर पछिल्लो समय मुलुककै विमानस्थल प्रयोग गरी खुलेआम हजारौँको सङ्ख्यामा खाडी मुलुक पठाइनुले अध्यागमनका कर्मचारीमाथि नै प्रश्न उठ्ने गरेको छ । 

भिजिट भिसामा जाने कतिपय यात्रुका कागजपत्र पूरा हुँदासमेत विभिन्न बहानामा विमानस्थलबाट फिर्ता गर्नु तर नक्कली कागजपत्रकै आधारमा ठूलो सङ्ख्यालाई भ्रमण अनुमति दिने काम बिचौलियाबिना सम्भव नहुने दाबी सुरक्षाका जानकारले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस