
काठमाडौँ । लोकतान्त्रिक संस्कारलाई अवलम्बन गर्दै होस्टल व्यवसायीहरुले समेत चुनाबी घोषणापत्र सार्वजनिक गरेका छन् । नेपाल होस्टल एसोसिएसनको यही भाद्र ७ गते हुन गईरहेको सातौं बार्षिक साधारणसभा तथा अधिवेशनका लागी भक्ति पाठक समुहले घोषणापत्र सार्वजनिक गरेको हो।
एक महिना अघिदेखी नै चुनाबी माहौलमा होमिएका होस्टल व्यवसायीहरु यो घोषणापत्रको प्राप्ति सँगै नयाँ मोडमा आइपुगेका छन् । देशभरका ७ सय भन्दा बढी होस्टलहरु सदस्य रहेको होस्टल एसोसिएसनको नेतृत्व हात पार्न अब सतही कुरा र आरोप-प्रत्यारोपबाट माथी उठेर लिखित र ठोस प्रतिवद्दता चाहिन्छ भन्ने अनुभूति होस्टल एसोसिएसनका नेताहरुलाई समेत भएको देखिएको छ ।
अहिले स्पष्ट रुपमा दुइवटा समूह एसोसिएसन नेतृत्वको लागी प्रतिष्पर्धामा छ । एउटा समूह भक्ति पाठकको नेतृत्वमा छ भने अर्को गोबिन्द गिरीको । यही क्रममा शनिबार ललितपुरमा एक समारोह बीच पाठक समुहले आफ्नो प्रतिवद्धता पत्र व्यवसायी समक्ष पेश गरेको हो ।
घोषणापत्र सहित प्रस्तुत भएको पाठक समुहबाट महासचिवमा रुपाली पौडेल (गुरागाई) प्रत्यासी रहेकी छिन् । त्यसैगरी, बरिष्ठ उपादक्ष्यमा अरुण पराजुली छन् भने महिला उपादक्ष्य उर्मिला भट्टराई (बराल), सचिबमा डण्डी प्रसाद गौतम र कोषाध्यक्षमा पूजा जोशी उठेकी छिन् । सदस्यहरुमा सरोज पौडेल, गणेश आचार्य, घनश्याम रिसाल, राधिका घिमिरे, कल्पना आचार्य र राजकुमार केसी मैदानमा छन् ।
पाठक समुहको चुनाबी घोषणापत्रमा होस्टलमा कामदार आपूर्तिको व्यवस्था गर्ने देखी लिएर होस्टलको लागी आवश्यक वकिल र अडिटरसम्मको व्यवस्थामा सहयोग गर्ने कुरा उल्लेख छ । होस्टल व्यवसायी, कामदार र सेवाग्राहीको समेत बिमा गरिदिने कुरा पनि गरिएको छ । त्यस अलावा हालसम्म होस्टल एसोसिएसनले व्यवसायीहरुबाट बिभिन्न शिर्षकमा रकम लिने तर कुनैपनि सुबिधा नदिने परम्परा रहेकोमा त्यसको अन्त्य गर्दै सेवाग्राही (बिधार्थी) भर्ना फारम, बिदा फारम, आचार संहिता फ्लेक्स बोर्ड निशुल्क रुपमा वितरण गर्ने घोषणा पनि छ ।
अहिलेसम्म बैंक तथा वित्तीय संस्थाहरुले होस्टल व्यवसायलाइ एक सम्मानित व्यवसायको रुपमा स्वीकारेर लगानी गर्नसक्ने अबस्था सिर्जना गर्न पहल गर्ने पनि पाठक समुहले बताएको छ । त्यसैगरी व्यवसायीको स्वास्थ्य सेवामा सहयोग गर्ने प्रतिवद्दता पनि पाठक समुहले प्राथमिकतामा राखेर गरेको छ ।
प्रतिक्रिया दिनुहोस