
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका नियामक निकायलाई जिम्मेवारीअनुसार काम गर्न सतर्क गराएको छ । अख्तियारले बैंकिङ प्रणालीमार्फत नै कालो धन आउने कार्य भइरहेको भन्दै त्यसलाई रोक्न नियामक निकायका रूपमा रहेको नेपाल राष्ट्र बैंकलगायतका निकायलाई निर्देशन दिएको छ ।
अख्यिारले सरकारका सबै नियामक निकायका प्रमुखहरूलाई बुधबार आयोगमा नै बोलाएर सुशासन कायम गर्न आपसी रूपमा समन्वय गर्दै अघि बढ्न निर्देशनसमेत दिएको हो । ‘अहिले पनि बैंकिङ प्रणालीमार्फत नै कालो धन आउने कार्य भइरहेको बुझिएकाले त्यसलाई तत्काल रोक्नुपर्छ,’ अख्तियारले दिएको निर्देशनमा भनिएको छ ।
अख्तियारले नियमक निकायका रूपमा रहेका राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय बिमा समिति, विद्युत् नियमन आयोगका प्रमुखहरूलाई बोलाएर सेवाप्रवाह प्रभावकारी बनाउन तथा सुशासन कायम गर्न विशेष जोड दिनुपर्ने भन्दै नियामक निकायका प्रमुखहरूलाई विशेष ध्यानाकर्षण गराएको छ ।
बैंकिङ प्रणालीमार्फत नै कालो धन आउने भन्दै रोक्न निर्देशन
नियामक निकायलाई सुशासन कायम गर्नेगरी अघि बढ्न निर्देशन दिँदै प्रमुख आयुक्त प्रेमकुमार राईले सुशासन प्रवद्र्धन गर्ने कार्य सबै नियामक निकायको सामूहिक जिम्मेवारी भएको स्पष्ट पारे । प्रमुख आयुक्त राईले बैंकिङ प्रणालीमार्फत नै कालोधन आउने कार्य भएको बुझिएकाले सोको अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याए । उनले सबै रेमिट्यान्स बंैकिङ प्रणालीमार्फत नै ल्याउन थप प्रयास गर्नुपर्ने, वाणिज्य बैंकहरूको सुपरिवेक्षणलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए ।
प्रमुख आयुक्त राईले नियामक निकायहरूले आफूले सम्पादन गर्नुपर्ने कामको समय निर्धारण गरी सेवाप्रवाह गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औंल्याए । उनले नियामक निकायहरूबाट हुने अनुगमन तथा सुपरिवेक्षणको कार्य कमजोर भएकाले अनुगमन तथा मूल्यांकन शाखालाई प्रभावकारी, जिम्मेवार र जवाफदेही बनाउनुपर्ने तथा कार्यसम्पादन करारलाई कार्यसम्पादन मूल्यांकनसँग आबद्ध गरी कार्यान्वयनमा ल्याउन निर्देशन दिए । उनले आयोगमा उजुरी पर्दैमा त्रसित हुने र काम गर्न छाड्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने, नियामक निकायहरूको ऐन कानुन संशोधन गर्न आफ्नो तर्फबाट सबैले पहल गर्नुुपर्ने आवश्यकता औंल्याए ।
प्रतिक्रिया दिनुहोस