aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

आज सिट बाँडफाँटको टुंगो लाग्न सक्छ : सञ्चारमन्त्री कार्की

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • विहीबार, १६ भदौ २०७९
आज सिट बाँडफाँटको टुंगो लाग्न सक्छ : सञ्चारमन्त्री कार्की

काठमाडौं । सत्ता साझेदार पाँचदलीय गठबन्धनका शीर्ष नेताहरू प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा सिट बाँडफाँटको प्रारूपमा सहमति नजिक पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार सम्पन्न बैठकमा मङ्सिर ४ गतेका लागि तय भएको निर्वाचनका लागि पाँचदलीय गठबन्धनका शीर्ष नेताहरू सिट बाँडफाँटको औपचारिक सहमति नजिक पुगेका छन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलसहितका नेताहरू सिट बाँडफाँटको विषयमा निरन्तर छलफल गरिरहेका छन् ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार बिहान ११ बजे बैठक बस्ने र निर्णय सार्वजनिक गर्ने बताए । उनले भने, “हामी निष्कर्षको नजिक पुगेका छौँ । बैठकमा गम्भीर रूपले छलफल भयो। तपाईंको प्रश्न हुनसक्छ, छलफल सकारात्मक भयो, परिणाम किन सकारात्मक भएन भन्ने। परिणामको नजिक पुगेका छौँ।”

प्रतिक्रिया दिनुहोस