
काठमाडौं । जनप्रतिनिधि र कर्मचारीको विदेश भ्रमण मोह बढेको छ । तालिम, अध्ययन र अनुभव आदानप्रदानका नाममा ठूलो संख्यामा जनप्रतिनिधि तथा कर्मचारी विदेश जाने गरेका छन् ।
भ्रमणपछिको उपलब्धि भने केही देखिएको छैन । सरकारले जनप्रतिनिधिको विदेश भ्रमणलाई कडाइ गरे पनि विदेश जानेको संख्या बढेको छ ।
सरकारले विदेश यात्रालाई व्यवस्थित, मर्यादित र मितव्ययी बनाउन ‘विदेश भ्रमण सम्बन्धी निर्देशिका’ जारी गरेको छ । तर कर्मचारी र जनप्रतिनिधिले त्यसको अवज्ञा गरेका छन् ।
अधिकांश भ्रमण व्यवस्थापन एनजीओ रआईएनजीओले गर्छन् । उनीहरूले मुलुकको हितका लागि भन्दा पनि आफ्नो स्वार्थ पूर्ति गर्न कर्मचारी र जनप्रतिनिधिलाई विदेश लाने गरेका छन् ।
संघीय मालिमा तथा सामान्य प्रशासन मन्त्रालयबाट विदेश जानेको संख्या अघिल्लो दुई वर्षको तुलनामा दोब्बर छ । दुई वर्षमा २५४ जना जनप्रतिधि र कर्मचारीले विदेश भ्रमण गरेका छन् ।
आव २०७४/७५ भन्दा २०७५/७६ मा विदेश जानेको संख्या दोब्बर बढी छ । आव २०७५/७६ मा १६७ जना जनप्रतिनिधि तथा कर्मचारी विदेश घुमेका थिए । २०७४/७५ मा ७० जना विदेश भ्रमणमा गएका थिए ।
गत आवमा सबैभन्दा धेरै स्थानीय तहका कर्मचारी विदेश गएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांक छ । स्थानीय तहबाट ६२ जना कर्मचारी विदेश भ्रमणमा गएका छन् । मन्त्रालय प्रवक्ता भूपाल बरालले अध्ययन, भ्रमण र तालिमका लागि स्थानीय तहका पदाधिकारी र कर्मचारीले विदेश भ्रमण गरेको बताए ।
उनले दाताको खर्चमा मात्रै मन्त्रालयले भ्रमणको स्वीकृति दिने गरेको स्पष्ट पारे । ‘सरकारी खर्चमा पठाउँदैनौं,’ उनले भने, ‘दाताकै खर्चमा क्षमता विकास, तालिमका लागि स्वीकृति दिन्छौं।’ उनका अनुसार तालिम र क्षमता विकासका लागि चीन र जापानले धेरै कर्मचारी र जनप्रतिनिधिलाई बोलाउने गरेका छन्।
सबैभन्दा बढी जनप्रतिनिधि र कर्मचारी चीन र त्यसपछि जापान भ्रमणमा गएका छन्। मलेसिया, कोरिया, नेदरल्यान्ड, थाइल्यान्ड, फिलिपिन्स, भारत, स्विजरल्यान्ड, इन्डोनेसिया, जर्मनी, अमेरिका, भियतनाम, न्युजिल्यान्ड, भुटान, अस्ट्रेलिया भ्रमणमा पनि उनीहरू गएका छन्। यसरी विदेश जानेमा मन्त्री लालबाबु पण्डित, सहसचिव र उपसचिव पनि छन्।
विदेश जाने अन्य कर्मचारीमा महालक्ष्मी नगरपालिका ललितपुरका प्रमुख प्रशासकीय अधिकृत मेखबहादुर मंग्राती, बगलामुखी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रबहादुर ओली, चखेली गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत धु्रवप्रसाद फुँयाल, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भीष्म भुसाल, जिल्ला समन्वय समिति कालिकोटका समन्वय अधिकारी कोमलप्रसाद धमला, बेलबारी नगरपालिका मोरङका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल छन्।
विदेश जाने अन्य स्थानीय तहका कर्मचारीमा भरतपुर नगरपालिकाकी उपसचिव सिर्जना थपलिया, पोखरा महानगरपालिकाका सिनियर डिभिजनल इन्जिनियर सोभियत खड्का, जिल्ला समन्वय समिति लमजुङका समन्वय अधिकारी अन्तरबहादुर सिलवाल, राजगढ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव झा, शम्भुनाथ नगरपालिकाका विष्णुप्रसाद गुरुङ, गढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणीन्द्रप्रसाद भट्टराई, नागार्जुन नगरपालिका काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, ईश्वरपुर नगरपालिका सर्लाहीका प्रमुख प्रशासकीय अधिकृत होमबहादुर थापा छन्।
ललितपुर महानगरपालिकाका उपसचिव विदुरप्रसाद धिमाल, कालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका सिनियर इन्जिनियर प्रवीण कार्की र बूढीगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले विदेश जाने मौका पाएका छन््।
यस्तै बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहाल, कीर्तिपुर नगरपालिकाका वरिष्ठ इन्जिनियर बालकृष्ण महर्जन, गोनही नगरपालिकाका शाखा अधिकृत मनोजकुमार रजक, वीरगन्ज महानगरपालिकाका सिनियर डिभिजनल इन्जिनियर अखल्यक अहमद सिद्धिकी, कमलामाई नगरपालिका सिन्धुलीका इन्जिनियर बिनोदबाबु खकुराल विदेश गएका छन्। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस