aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

चोलेन्द्रलाई समितिमा एक प्रश्नको जवाफ दिन घण्टौं समय

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शुक्रबार, १७ भदौ २०७९
चोलेन्द्रलाई समितिमा एक प्रश्नको जवाफ दिन घण्टौं समय

काठमाडौं । संसद्को महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणासँग आइतबार फेरि बयान लिने भएको छ । राणासँग बुधबारबाट समितिले बयान लिन सुरु गरे पनि सबै प्रश्न सोध्न समय नभ्याएपछि उनलाई बिहीबार बोलाएको थियो ।

यसअघि, बुधबारको बयानमा राणाले आफूमाथि लागेका आरोपमा जबाफ दिनुको साटो ‘आफू प्रधानन्यायाधीश हुँदा कसले किन आन्दोलन गरे र आफूमाथि किन महाभियोग प्रस्ताव आयो ?’ भन्ने प्रश्न उठाएका थिए । उनले सर्वोच्च अदालतका पूर्वन्यायाधीश, बहालवाला न्यायाधीश र नेपाल बार एसोसिएसनका पदाधिकारीमाथि विभिन्न आरोपसमेत लगाए ।

महाभियोग प्रस्ताव गर्ने सांसद नै समितिमा छन् । राणा निलम्बित प्रधानन्यायाधीश राणाले बिहीबार महाभियोग सिफारिस समिति तथा सांसदहरूमाथि नै ‘निष्पक्षताको प्रश्न’ उठाए । आफूविरूद्ध ‘महाभियोग प्रस्ताव गर्ने सांसदहरू नै समितिमा रहेको’ भन्दै उनले ‘निष्पक्षतामाथि प्रश्न’ उठाएका हुन् ।

‘आफैंले महाभियोग प्रस्ताव गर्ने, आफैं छानबिन गर्ने, निर्णय पनि आफैं गर्ने ? यो प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुन्छ,’ बिहीबार सिंहदरबारमा महाभियोग सिफारिस समितिमा उपस्थित भई बयान दिने क्रममा उनले भने, ‘महाभियोग प्रस्ताव गर्ने सांसदहरू नै समितिमा हुनुहुन्छ ।’

महाभियोग प्रस्ताव गर्नेले समितिमा बसेर छानबिन गर्दा स्वार्थ बाझिने उनको तर्क छ । ‘महाभियोग प्रस्ताव गर्ने सांसदले छानबिन गर्न मिल्दैन, स्वार्थ बाझिन्छ,’ उनले भने ।

महाभियोग सिफारिस समिति सदस्य सांसद रेखा शर्माले समितिले निष्पक्ष भएर छानबिन गर्ने दाबी गरिन् । ‘हामी सांसद महाभियोग प्रस्तावक भए पनि निष्पक्ष रूपमा छानबिन गर्छौं,’ उनले भनिन्, ‘समितिले निष्पक्ष छानबिन गर्छ । आधार र प्रमाणका आधारमा उहाँमाथि छानबिन हुन्छ ।’

राणाले बुधबार बयान दिँदै ‘महाभियोग निष्क्रिय भइरहेको र संसद्को सम्मानका लागि मात्रै जवाफ दिन आएको’समेत प्रस्ट पारे । समितिले बयान सुरु गरेको दोस्रो दिन बिहीबार राणालाई दुई प्रश्न सोधिएको थियो ।

प्रतिक्रिया दिनुहोस