aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

देशका ९३ प्रतिशत स्थानमा बिजुली पुग्दा कर्णालीमा अझै अन्धकार

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शुक्रबार, १७ भदौ २०७९
देशका ९३ प्रतिशत स्थानमा बिजुली पुग्दा कर्णालीमा अझै अन्धकार

काठमाडौं  नेपालको कुल जनसङ्ख्याको झन्डै ९३ प्रतिशतले विद्युत् उपभोग गर्न पाएका छन् । नेपाल विद्युत् प्राधिकरणले सबै स्थानीय तहका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको प्रतिवेदनले कुल जनसङ्ख्याको ९२.५१ प्रतिशतमा विद्युत्को पहुँच पुगेको देखाएको हो । 

नेपाल विद्युत् प्राधिकरणले बिहीबार सार्वजनिक गरेको नेपाल विद्युतीकरण तथ्याङ्क २०७७ अनुसार मधेश प्रदेशमा लगभग सबै जनसङ्ख्याले विद्युत् उपभोग गर्न पाएका छन् भने सबभन्दा कम कर्णाली प्रदेशको ५६.७९ प्रतिशत र सुदूरपश्चिमको ७८.८५ प्रतिशत जनसङ्ख्यामा मात्रै विद्युत् पहुँच पुगेको छ । विद्युत्को पहुँच पुगेकामध्ये ९२.३७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र ०.१४ प्रतिशतले ग्रिडभन्दा बाहिरबाट रहेको छ । 

४७६ स्थानीय तहमा पूर्ण विद्युतीकरण

यो प्रतिवेदनअनुसार ७५३ स्थानीय तहमध्ये ४७६ स्थानीय तहमा पूर्ण विद्युतीकरण भएको छ भने २४२ स्थानीय तहमा आंशिक रूपमा विद्युतीकरण भएको छ । ३५ स्थानीय तहमा प्राधिकरणले विद्युत् पु¥याउन सकेको छैन तर यी स्थानीय तहका केही स्थानमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सौर्य ऊर्जा तथा लघु जलविद्युत्मार्फत बिजुली बालेको छ ।  

४२ जिल्लामा पूर्ण विद्युतीकरण 

७७ जिल्लामध्ये ४२ जिल्लामा पूर्ण विद्युतीकरण भएको छ भने १४ जिल्लामा ७५ देखि ९५ प्रतिशत र १० जिल्लामा ५० देखि ७५ प्रतिशत विद्युतीकरण भएको छ । यसैगरी सात जिल्लामा २५ देखि ५० प्रतिशत र चार जिल्लामा शून्यदेखि २५ प्रतिशत मात्र विद्युतीकरण भएको छ । 

सो प्रतिवेदनअनुसार डोल्पा, मुगु र हुम्लामा अझैसम्म राष्ट्रिय ग्रिड पुग्न सकेको छैन । राष्ट्रिय प्रसारण लाइन नपुगेका ठाउँमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत सौर्य, लघु जलविद्युत्मार्फत विद्युतीकरण गर्ने प्रयास भइरहेको छ ।   

प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालका अनुसार गत आर्थिक वर्ष थप १० जिल्लालाई सारभूत रूपमा विद्युतीकरण गर्न सकिएको बताए। उनले भने, “आंशिक विद्युतीकरण भएका र विद्युतीकरण हुन नसकेका स्थानीय तहमा विद्युतीकरण गर्न टेन्डरको प्रक्रियामा गइसकेका छौँ ।” 

मधेशमा शतप्रतिशत र कर्णालीमा आधा

आगामी दुई वर्षमा शतप्रतिशत विद्युतीकरणको अभियानमा जुटेको सरकारले पछिल्लो दुई वर्षमा मधेश प्रदेशको विद्युतीकरणमा उल्लेख्य सफलता हासिल गरेको छ । 

प्रतिक्रिया दिनुहोस