aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

भारतले दुइ बन्दरगाह नेपाललाई प्रयोग गर्न दिने

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • आइतबार, १९ भदौ २०७९
भारतले दुइ बन्दरगाह नेपाललाई प्रयोग गर्न दिने

वीरगञ्ज । नेपालको समुद्रपार व्यापारका लागि भारतले थप २ समुद्री बन्दरगाह उपलब्ध गराउने भएको छ । नेपालले तेस्रो मुलुकसँगको व्यापारका लागि अहिलेसम्म भारतका तीनओटा बन्दरगाह प्रयोग गर्दै आएको छ । आगामी वर्षदेखि अन्य २ बन्दरगाह थपिनेछन् ।

भारतले नेपालको व्यापारका लागि उडिसा राज्यमा पर्ने धाम्रा र गुजरातको मुन्द्रा बन्दरगाह उपयोगको बाटो खोल्न लागेको समाचार भारतीय पत्रिका द प्रिन्टले प्रकाशित गरेको छ ।

भारतको छिमेकी पहिलो नीतिअन्तर्गत नेपाललाई तेस्रो मुलुकसँगको आयातनिर्यातमा यी बन्दरगाह प्रयोग गर्न दिने सहमति भएको र यसको आवश्यक तयारीका लागि दुवै पक्षबीच संवाद भइरहेको भारतीय कूटनीतिक स्रोतलाई उल्लेख गर्दै द प्रिन्टले लेखेको छ ।

द प्रिन्टका अनुसार सन् २०२३ मा हुने नेपाल–भारत पारवहन सन्धि संशोधनमार्फत थप बन्दरगाह प्रयोगको बाटो खोलिनेछ । तेस्रो मुलुकसँगको व्यापारका लागि नेपालले यी बन्दरगाह प्रयोगमा ल्याउन नेपाल–भारत अन्तरसरकारी बैठकमा सन् २०१८ मै सैद्धान्तिक सहमति भएको थियो ।

नेपालले भारतीय निकायलाई यी बन्दरगाह उपयोगसम्बन्धी सम्झौताको मस्यौदासमेत बुझाइसकेको छ । यसले नेपालको वैदेशिक व्यापारलाई प्रतिस्पर्धी बनाउने विश्वास नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका पारवहन समिति संयोजक अशोककुमार टेमानीको छ । व्यापारमा पारवहनको लागत घटाउन बन्दरगाह छनोटको दायरा अझ फराकिलो पार्न कूटनीतिक पहलको खाँचो टेमानी औंल्याए ।

प्रतिक्रिया दिनुहोस