aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

अफगानिस्तानमा विवाह समारोहमा बम विस्फोट हुँदा ६३ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ भदौ २०७६
अफगानिस्तानमा विवाह समारोहमा बम विस्फोट हुँदा ६३ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा एउटा विवाह समारोहमा गराइएको बम विस्फोटनमा परेर ६३ जना मारिएको र १८० जनाभन्दा बढी मानिस घाइते भएका छन्।

प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताएअनुसार एक आत्मघाती हमलाकारीले विवाह समारोहमा बम विस्फोट गराएका थिए। विस्फोटनपछि धेरै मानिस हताहत भएको देखेको उनीहरूले बताए। स्थानीय समयअनुसार राती २२:४० बजे शहरको पश्चिम भागमा रहेको शिया मुस्लिम बहुल क्षेत्रमा उक्त विस्फोट भएको थियो।

आक्रमण कसले गरायो?

कुनै समूहले आक्रमणको जिम्मेवारी लिएको छैन। तालिबान, इस्लामिक स्टेट समूह र सुन्नी मुस्लिम विद्रोहीहरूले अफगानिस्तान र पाकिस्तानमा रहेका शिया हजारा अल्पसङ्ख्यकहरूलाई बारम्बार निसाना बनाउने गरेका छन्।

काबुलको एक प्रहरी चौकीमा १४ जनाको ज्यान जाने र १५० जनालाई घाइते तुल्याउने गरी ठूलो बम विस्फोटन गराइएको १० दिनपछि पछिल्लो हमला भएको छ। शुक्रवार पाकिस्तानको क्वेटा सहरमा एक मस्जिद नजिकै राखिएको बम विस्फोट हुँदा तालिबान नेता हिबतुल्लाह अखुन्डजादाका भाइ मारिएका थिए। त्यो आक्रमणको कुनै समूहले जिम्मेवारी लिइसकेको छैन।

अफगानिस्तानको गुप्तचर निकायको एक सूत्रले बीबीसीलाई बताएअनुसार तालिबान नेता हिबतुल्लाह अखुन्डजादा आफैँ त्यो मस्जिदमा प्रार्थना गर्न जाने कार्यक्रम थियो। सायद उनैलाई निसाना बनाउने योजना थियो। अफगानिस्तानमा हजारौँ सैनिक खटाएको अमेरिका र तालिबान शान्ति सम्झौताको नजिक पुगेको भनिएको बेला अफगानिस्तानमा तनाव बढेको छ।

पछिल्लो घटनाबारे के थाहा छ?

आन्तरिक मन्त्रालयका प्रवक्ता नस्रत राहिमीले पुष्टि गरेअनुसार शनिवारको विस्फोटनमा गैरसैनिकहरू हताहत भएका छन् तर उनका अनुसार त्यसबारे विस्तृत विवरण सङ्कलन गर्ने काम अझै चलिरहेको छ। अफगानिस्तानमा हुने विवाह समारोहमा सयौँ पाहुनाहरू सहभागी हुने गर्छन्। उनीहरू ठूला हलमा जम्मा हुन्छन्, जहाँ महिला र केटाकेटी तथा पुरुषहरू छुट्टाछुट्टै समूहमा बस्छन्।

विवाहमा सहभागी एक पाहुना मोहमद फार्हागले आफू महिला बस्ने खण्डतिर गएको बेला पुरुषहरू भएतिर ठूलो आवाजमा विस्फोट भएको सुनेको बताए। "त्यसपछि सबैजना रुँदै र कराउँदै बाहिर निस्किन थाले", उनले भने, "२० मिनेट जति हलमा धुवाँ नै धुवाँ देखियो। पुरुषहरू भएतिर लगभग सबैजना मृत अवस्थामा वा घाइते भएर लडिरहेका थिए। घटनाको दुई घण्टापछि हताहत भएका मानिसलाई हल बाहिर लैजान थालियो।"

तालिबानका एक प्रवक्ताले आफ्नो समूहले पछिल्लो आक्रमणको "कडा निन्दा" गरेको बताए। सञ्चार माध्यमलाई पठाएको सन्देशमा जाबिउल्लाह मुजाहीदले लेखेका छन्, "महिला र केटाकेटीलाई निसाना बनाउँदै उनीहरूको क्रुर हत्या गर्ने यस्ता कार्यको औचित्य कहिल्यै पुष्टि हुन सक्दैन।"

शान्ति वार्ता कसरी चल्दैछ

तालिबान र अमेरिकी प्रतिनिधिहरूले कतारको राजधानी दोहामा शान्ति वार्ता गरिरहेका छन्। दुवै पक्षले वार्तामा प्रगति भएको बताइरहेका छन। शुक्रवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीटरमा सन्देश लेख्दै दुवै पक्षले 'सम्भव भएसम्म सहमति जुटाउने प्रयास गरिरहेको' बताए। त्यो सहमति अनुसार अफगानिस्तानमा खटिएका अमेरिकी सेनाहरू क्रमबद्ध रूपमा हट्न थाल्ने र तालिबानले अफगानिस्तानबाट कुनै पनि अतिवादी समूहले अमेरिकी निसानामा आक्रमण नगर्ने सुनिश्चित गर्नुपर्ने छ।

त्यसअनुसार तालिबानले अफगानिस्तानको सरकारी टोलीसँग वार्ता गर्दै शान्तिको खाका तयार पार्दै युद्धविराम गर्ने भनिएको छ। तर अमेरिकी सेना हट्ने समयतालिका नबनेसम्म तालिबानहरू अफगानिस्तान सरकारसँग वार्ता नगर्ने अडानमा छन्। सन् २००१ मा सत्ताबाट हटाइएको तालिबानले अहिले आफ्नो पकड क्षेत्र निकै धेरै विस्तार गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस