aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

निजामती सेवामा अवकाशपछि पनि काम

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • मंगलबार, २१ भदौ २०७९
निजामती सेवामा अवकाशपछि पनि काम

काठमाडौं । कतिपय निजामती कर्मचारीले उमेर हदभन्दा बढी पनि काम गर्ने गरेको पाइएको छ । त्यस्ता कर्मचारीको अवधि पनि पेन्सन पट्टा बनाउने बेला मात्र थाहा हुने गरेको छ । राष्ट्रिय किताबखाना (निजामती)का अनुसार हरेक वर्ष चारदेखि पाँच जना निजामती कर्मचारीले उमेर हदभन्दा बढी समय सेवा गर्ने गरिएको पाइएको छ । 

निजामती सेवा ऐनमा कर्मचारीको अवकाश हुने उमेर हद ५८ वर्ष तोकिए पनि त्यस्ता कर्मचारी ५८ वर्ष उमेर कटिसके पनि सेवामा बहाल नै रहने गरेका हुन् । कार्यालय सहयोगीदेखि उपसचिवसम्मका कतिपय कर्मचारीले मालदार भन्ने गरिएका कार्यालयमा बसेर बढी समय सेवा गर्दा राम्रो आम्दानी गर्न सकिने मनसायले नियतवश नै बढी समय सेवा गर्ने गरेको राष्ट्रिय किताबखाना (निजामती)ले जनाएको छ । 

राष्ट्रिय किताबखाना (निजामती)का महानिर्देशक बाबुराजा श्रेष्ठले कर्मचारीले किताबखानामा हरेक वर्ष पेन्सन पट्टा बनाउन आउँदा चारदेखि पाँच जना उमेर हदभन्दा बढी समय सेवा गरेका कर्मचारी आउने गरेको बताए । 

सेवामा प्रवेश गर्दा किताबखानामा बुझाउनुपर्ने शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकता र  वैयक्तिक विवरण (सिट रोल)मा उल्लेखित उमेर फरकफरक हुँदा हरेक वर्ष चारदेखि पाँच जना कर्मचारीले उमेर हदभन्दा बढी समय सेवामा बहाल हुने गरेको श्रेष्ठले स्पष्ट पारे । 

निजामती सेवा ऐनमा निजामती कर्मचारीको उमेर गणना गर्दा ऐनको व्यवस्थाअनुसार वैयक्तिक विवरण, नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लेखित जन्म मिति, वर्ष, महिना र गतेसमेत खुलेको र सबैमा एउटै मिति नरहेको भएमा जुन मितिबाट पहिला अवकाश हुन्छ सोही मितिबाट अवकाश दिइने भन्ने उल्लेख छ ।  

कुनै प्रमाणपत्रमा वर्ष मात्र खुलेको र अर्कोमा पूरै जन्म मिति खुलेको भएकोमा त्यस्तो प्रमाणपत्रको जन्म मितिको बीचमा एक वर्षको अन्तर देखिएमा पूरा खुलेको जन्म मितिलाई आधार मान्नुपर्ने व्यवस्था छ ।

श्रेष्ठले भने  “किताबखानामा बुझाउने तीनवटा कागजातमध्ये ढिला अवकाश हुने कागजात मात्र बुझाउने र चाँडो अवकाश हुने कागजात लुकाउँदा उमेर हदभन्दा बढी समय सेवा गर्ने गरिएको हो ।”उनका अनुसार सम्बन्धित कागजातमा उमेरको द्विविधा भएमा विभाग, सम्बन्धित कार्यालय वा कर्मचारीले जुनसुकै माध्यमबाट पनि किताबखानामा सम्पर्क गरी अवकाशका लागि लागू हुने जन्म मिति यकिन गर्नुपर्छ ।

उमेर सेवा अवधिका कारण अनिवार्य अवकाश पाउने कर्मचारीले अवकाश हुने मितिभन्दा छ महिना अगाडि नै ऐनको अनुसूचीमा उल्लेखित फाराम भरी आफू बहाल रहेको कार्यालयमार्फत किताबखानामा पठाउनुपर्नेमा कतिपय कर्मचारी वा कार्यालयले त्यस्तो विवरण नपठाउँदा समस्या सिर्जना भएको हो । 

प्रतिक्रिया दिनुहोस