
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघ (यूएन)को ७७औं महासभामा सहभागी हुन अमेरिका नजाने भएका छन् । यूएनको ७७औं महासभा १३ देखि २७ सेप्टेम्बरसम्म हुनेछ । प्रधानमन्त्री देउवाको अमेरिकाको भ्रमणको तयारी पटकपटक गरिए पनि मिति तय हुन सकेको थिएन ।
यूएन महासभाको अवसरमा उनको अमेरिका भ्रमणको तयारी गरिएको थियो । अन्ततः उनी सहभागी नहुने भएका छन् । नेपालमा निर्वाचनको मिति तय भइसकेकाले उनी अमेरिका भ्रमणमा नजाने भएको बताइएको छ । अमेरिकाबाट द्विपक्षीय भ्रमणका विषयमा निश्चित मिति नआएपछि देउवा यूएन महासभाका सहभागी हुन अमेरिका भ्रमण नगर्ने पक्षमा पुगेका हुन् ।
न्युयोर्कमा हुने महासभामा परराष्ट्रमन्त्री नारायण खड्का जानेगरी परराष्ट्र मन्त्रालयले तयारी सुरु गरेको भए पनि आगामी मन्त्रिपरिषद् निर्णय गरेपछि मात्र निश्चित हुने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । गत वर्ष पनि खड्का नै सहभागी भएका थिए । नेपालको तर्फबाट खड्काले नै सम्बोधन गर्नेगरी परराष्ट्र मन्त्रालयले तयारी थालिसकेको छ ।
महासभामा संयुक्त राष्ट्रसंघका सदस्य मुलुकका सरकार प्रमुख सहभागी हुने गर्छन् । परराष्ट्र मन्त्रालयले असारको अन्तिम साता तथा साउनको पहिलो सातामा उनको अमेरिका भ्रमण गर्नेगरी गृहकार्य गरेको थियो । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नेपालले ६ असारमा अस्वीकार गरेपछि उनको भ्रमण अनिश्चित बनेको थियो ।
प्रतिक्रिया दिनुहोस