
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्देशनमा परिचालन भएको अवैध संरचना भत्काउँदै हिँडेको डोजर सोमबार गोंगबुस्थित नयाँ बसपार्क क्षेत्र पुगेको छ । काठमाडौं महानगरपालिकाको डोजरले सोमबार नयाँ बसपार्क क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाउन सुरु गरेको छ ।
यसअघि काठमाडौंको बानेश्वर, न्युरोड, त्रिपुरेश्वर, कोटेश्वर, वनस्थलीलगायत विभिन्न ठाउँको संरचना भत्काएर आइतबार कोटेश्वर क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाएको महानगरपालिकाले सोमबार काठमाडौं महानगरपालिका– २६ को नयाँ बसपार्क क्षेत्रस्थित मित्रनगरमा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउन थालेको हो ।
डोजरसहित पुगेको काठमाडौं महानगरपालिकाको प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको संयुक्त टोलीले दिनभर गोंगबु नयाँ बसपार्क क्षेत्र वरिपरि सडक मिचेर बनाइएका धेरै संरचना भत्काएको थियो ।
कामनपा २६ वडाका वडाध्यक्ष ख्यामराज तिवारीले जथाभावी महानगरको टोलीले फुटपाथ र पार्किङ मिचेर बनाइएका संरचना हटाउने काम सुरु गरिएको जानकारी दिए ।
महानगरपालिकाले भूमिगत पार्किङ मिचेर बनाइएका दोहोरी साँझसमेत हटाएको छ । अहिले नयाँ बसपार्कस्थित मित्रनगर प्रवेशद्वारदेखि म्हैपीसम्मका अवैध संरचना हटाइने काम भइरहेको महानगरपालिकाले जनाएको छ ।
मित्रनगर विकास तथा टोल सुधार समितिकी उपाध्यक्ष गंगा पन्तले सुन्दर मित्रनगर निर्माणका लागि महानगरपालिकाले गरेको काम एकदमै सराहनीय भएको बताइन् ।
‘मित्रनगर क्षेत्रलाई व्यवस्थित रूपमा सञ्चालन गर्न यस्तो कार्यले सहयोग पुग्छ,’ उनले भनिन् । काठमाडौं महानगरपालिकाले डोजर लगाएर अनधिकृत संरचना हटाएको दृश्य हेर्न स्थानीयको भीड लागेपछि नगर प्रहरी र नेपाल प्रहरीको टोलीले बल प्रयोग गरेर बसपार्क क्षेत्रको भीड नियन्त्रण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस