aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

कलिला हातले कल चलाउँदै पानी पिउन बाध्य छन् विद्यार्थी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ भदौ २०७९
कलिला हातले कल चलाउँदै पानी पिउन बाध्य छन् विद्यार्थी

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा ११ मा अवस्थित श्री भुजौली आधारभूत विद्यालयका विद्यार्थीहरु कलिला हातले बल पुगि नपुगि कल चलाउँदै पानी पिउन बाध्य छन् ।

विद्यार्थीहरु हरेक दिन यसरी विद्यालयको अगाडि रहेको ११ नं. वडा कार्यालयको कलमा आएर पानी पिउने गर्छन् । उनीहरुलाई यसो गर्नु रहर होइन बाध्यता हो । भविष्यमा देशका लागि योग्य नागरीक बन्ने सपना बोकेर आएका यी साना विद्यार्थीहरुलाई शिक्षा आर्जन गर्ने वातावरण नै छैन ।

२०३८ सालमा स्थापना भएको श्री भुजौली आधारभूत माध्यमिक विद्यालयमा ९० जना छात्रा र ६० छात्र गरी जम्मा १५० विद्यार्थीहरुले यस विद्यालयमा अध्ययन गर्छन् । १५० विद्यार्थीहरुका लागि ४ जना शिक्षकको दरबन्दी रहेको छ । विद्यार्थीहरुले पठनपाठन गर्ने कोठामा पानी तान्ने मोटर राखिएको छ । यो सुरक्षाको दृष्टिकोणले अत्यन्तै डरलाग्ने समेत हो ।

विद्यालयमा देखिएको सबै भन्दा नाजुक अवस्था साना साना बाल बच्चाले प्रयोग गर्ने शौचालय हो, गोपनियता नै नहुने यस्तो जिर्ण शौचालय प्रयोग गर्न विद्यार्थीहरुका लागि चुनौति नै हो । तर यसको विकासका लागि संघ, प्रदेश र स्थानीय तिनै तहको सरकाले प्रयास नगरेको प्रध्यानाध्यापक दल बहादुर यादव बताउँछन् ।

करिब १० कठ्ठा क्षेत्रफलमा रहेको यस विद्यालयमा बालविकासको लागि १ र अन्य ३ वटा कक्षा कोठा गरी जम्मा ४ वटा कक्षा कोठाहरु रहेका छन् । त्यो पनि अत्यन्तै जिर्ण अवस्थामा रहेका छन् । विद्यालयका कक्षा कोठाका झ्याल भाँचिएका छन्, झया्लमा जाली छैनन् , वर्खाको समयमा सबै पानी पसेर कक्षा कोठा नै डुबानमा पर्ने विद्यालयका सह प्रध्यानध्यापक नवीन पोखरेल बताउँछन् ।

आर्थिक वर्ष २०७८ मा नगरपालिकाले विद्यालयको भवन निर्माणको कामको थालनी गरेको थियो तर ठेकेदार नै फरार भएपछि अहिले भवन निर्माणको कामनै ठप्प बनेको छ । भवन बन्ने ठाउँमा घाँस, र झार बढिरहेका छन् ।

सिद्धार्थनगर नगरनपलिका जस्तो विकसित नगरपालिकामा समेत शिक्षाको यस्तौ अवस्था हुनु अत्यन्तै लजास्पद विषय हो । यस विद्यालयको विकासका निम्ति लायन्स क्लब, जेसिज, रोट्रयाक्ट जस्ता समाजिक संघ संस्थाको आँखा पुग्न सकेको छैन ।

आज यहाँ पठन पाठन गरीरहेका विद्यार्थीहरु भोली देशका कर्णदार हुन । यस विद्यालयको वातावरणमा कसरी दक्ष जनशक्ति उत्पादन होला, विभिन्न राजनिती दलका नेताहरुले गृह जिल्ला रुपन्देहीमा शिक्षाको क्षेत्रमा चरम लापरवाही हुने अत्यन्तै लजास्पद विषय हो । 

प्रतिक्रिया दिनुहोस