aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

डेंगु परीक्षणमा एकरुपता अपनाउने तयारी

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • बुधबार, २२ भदौ २०७९
डेंगु परीक्षणमा एकरुपता अपनाउने तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु परीक्षणको शुल्कमा एकरूपता कायम गर्ने भएको छ । सरकारी र निजी दुवै खालका स्वास्थ्य प्रयोगशालाले न्यूनतम चार सयदेखि तीन हजार चार सय रुपियाँसम्म लिने गरेका थिए । डेङ्गु परीक्षण गर्ने किट विभिन्न दातृ निकायले निःशुल्क दिने गरेका छन् । यसरी निःशुल्क दिएको किटमा समेत सरकार मातहतका निकायले महँगो शुल्क लिने गरेका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरोकारवाला निकायबीच मङ्गलबार भएको बैठकमा एकरूपता कायम गर्ने सहमति भए पनि त्यस्तो शुल्क निर्धारण भने भएको छैन । निजी क्षेत्रका अस्पताल र सरोकारवालाको समेत सुझावका आधारमा एक साताभित्रै सहमति गरिनेछ। डेङ्गु परीक्षणमा अस्पताल र प्रयोगशाला पिच्छे फरक–फरक शुल्क लिने गरेको भन्दै उक्त शुल्कमा कोभिड–१९ परीक्षणजस्तै एकरूपता गर्ने विषयमा छलफल भएको हो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले डेङ्गु परीक्षण शुल्कमा एकरूपता गरिने जानकारी दिए। केही दिनभित्रै डेङ्गु परीक्षण शुल्कमा एकरूपता गर्ने गरी सम्बन्धित निकायलाई सुझाव ल्याउन निर्देशन दिएको उनले बताए । 

बैठकमा डेङ्गुको परीक्षण शुल्क, डेङ्गु नियन्त्रणका लागि भइरहेका प्रयास, काठमाडौँ महानगर तथा अन्य पालिकाले गरिरहेका कामलगायतका विषयमा छलफल भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले विभिन्न अस्पताल तथा प्रयोगशालाले मनपरी शुल्क लिने गरेको पाइएकाले तीन दिनदेखि एक साताभित्रमा डेङ्गुको शुल्क निर्धारण गरिने जानकारी दिए । बैठकले शुल्क निर्धारण गर्न नसकेको जानकारी दिँदै उनले सम्बन्धित निकायको सुझावको आधारमा तीन दिनदेखि एक साताभित्र डेङ्गु परीक्षण शुल्कमा एकरूपता गरिने बताए ।

प्रतिक्रिया दिनुहोस