
काठमाडौं । अर्बौं लगानीमा तयार भएका मुलुकका दुई अन्तरराष्ट्रिय विमानस्थलहरू नाफामा चल्न १० देखि १५ वर्ष लाग्ने प्रक्षेपण गरिएको छ । झन्डै सात दशकको पर्खाइपछि निर्माण सम्पन्न भई सञ्चालनको चरणमा रहेको तथा सञ्चालनमा आइसकेको विमानस्थलले नाफा कमाउन उक्त समय लाग्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रक्षेपण हो ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलपछि दोस्रो अन्तरराष्ट्रिय विमानस्थलको रूपमा भैरहवास्थित गौतमबुद्ध सञ्चालनमा आएको हो । पोखरा अन्तरराष्ट्रिय विमानस्थल आगामी पुस १७ (सन् २०२३ को जनवरी १) देखि सञ्चालन गर्ने गरी प्राधिकरणले तयारी गरेको छ । समानान्तर रूपमा सञ्चालनमा आउने यी विमानस्थलमा अर्बौं रुपैयाँ खर्च भएको छ । जग्गाको मुआब्जादेखि विमानस्थल निर्माणका साथै उपकरण खरीदमा उक्त खर्च भएको हो । यी परियोजना निर्माण शुरू भएदेखि नै व्यावसायिक योजना बनाएको प्राधिकरणको भनाइ छ ।
तर, बीचमा कोभिड–१९ महामारीले समयमै काम सम्पन्न हुन सकेन । जसले गर्दा यी विमानस्थल बनाउने म्याद दुई वर्षभन्दा बढी थपिएको थियो । ‘दुइटा विमानस्थलको निर्माण बिजनेश प्लान नै बनाएर अघि बढाइएको हो,’ प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने, ‘बीचमा कोभिड आयो । खोपका कारण संक्रमण विस्तारै कम भयो, तथापि यसको त्रास अझै कायम छ ।’
यी विमानस्थलमा आउने अन्तरराष्ट्रिय एयरलाइन्स नै भएकोले तिनीहरू आउन नेपाल सुरक्षित हुनुपर्ने उनले बताए । ‘केही वर्षमै नाफामा जाने भन्ने हुँदैन यसकारण पनि पोखराको विमानस्थल नाफामा चल्न १५ वर्ष लाग्छ । गौतमबुद्ध १० वर्षमै नाफामा जाने देखिन्छ,’ उनले भने, ‘हवाई यात्रुको संख्या वार्षिक रूपमा बढिरहेको छ । ‘अन्तरराष्ट्रियतर्फ वार्षिक १० प्रतिशतको वृद्धिदर देखिन्छ भने आन्तरिकतर्फ यो १५ देखि २० प्रतिशत छ । यात्रु बढ्दा थप एयरलाइन्स आउँछन् भन्ने प्रक्षेपण हो ।’
प्रतिक्रिया दिनुहोस