काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सरकारको पछिल्लो काम कारबाहीको बारेमा संसदलाई जानकारी गराएका छन् ।
मेलम्चीका बारेमा पनि उनले व्यंग्यात्मक रुपमा आफ्नो भनाइ राख्दै एउटा ठेगदार भाग्दै सरकार नै भागे जसरी कराउन नहुने बताएका थिए। 'एउटा ठेगदार भागेको हो। सरकार भागेको होइन। मेलम्चीको पानी कसरी छिटो लिएर आउने भनेर सरकारले काम गरिरहेको छ,' उनले भने।
उनले बैठकमा बोल्दै सरकारले आलोचनालाई स्वागत गर्ने तर आलोचनाको नाममा प्रतिगमनलाई समर्थन गर्ने कुरालाई भने आफू र आफ्नो सरकारले स्वीकार नगर्ने बताएका छन्।
'कसैले चिहानमा गएर हड्डी फुक्दैमा गएको व्यवस्था फर्किँदैन,' उनले भने, 'सबैको पद जान्छ। मेरो पनि पद जान्छ। तर अर्को निर्वाचन पछि मात्रै जान्छ। त्यो भन्दा अगाडि नै जान्छ भनेर कसैले नसोचे हुन्छ।'
प्रधानमन्त्री ओलीले अहिले सरकारको सम्पूर्ण ध्यान विकास निर्माणमा केन्द्रित रहेको पनि बताएका छन्। सरकारले विकास ध्यान दिए पनि सरकारले केही गरेन भन्नेहरुलाई उनले व्यंग्य पनि गरेका थिए।
'केही भएन भन्दा पनि आर्थिक वृद्धिदर ७ प्रतिशत बढीको छ। यो नेपालको रेकर्ड हो। यो अर्को वर्ष झनै बढ्छ। यो वर्ष १४०० किलोमिटर पीच भयो भन्दा पनि केही भएन भन्नेहरुका लागि अर्को वर्ष १५०० किलोमिटर बनाउँला,' उनले भने।
प्रतिक्रिया दिनुहोस