
काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान लामिछानेमाथि लागेको आरोप पुष्टि भए १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुनेछ । कानुनअनुसार मुलुकी अपराधसंहिताको दफा २१९ को जबरजस्ती करणी गर्न नहुने कसुरको उपदफा (३) (घ)मा पीडित १६ वर्षदेखि माथि १८ वर्षसम्म भए १० देखि १२ वर्षसम्म कैद सजाय हुन्छ ।
त्यस्तै, उपदफा २ मा १८ वर्षभन्दा कम उमेरका कुनै बालिकासँग सहमतिमा सम्बन्ध राखे पनि ‘करणी’ मानिने उल्लेख छ । पीडितले प्रहरीसमक्ष दिएको जाहेरीमा ‘आफूलाई पिंगलास्थानको होटल काठमाडौं इनमा दुईपटक बलात्कार गरेको’ भनेकी छन् । ‘त्यसअघि लामिछानेले आफूलाई नगरकोट लगेको’ पनि उनले प्रहरीसमक्ष बताएकी छन् ।
प्रहरी अधिकारीका अनुसार पीडित ‘नाबालिग’ भएकाले मुलुकी अपराधसंहिता २०७४ को दफा २५५ मा उल्लेखित ‘बालयौन दुरुपयोग गर्न नहुने’ कसुरसमेत आकर्षित हुन सक्ने सम्भावना रहन्छ ।
सो उपदफामा ‘कसैले करणी आशयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगे, यौनसम्बन्धी अंग छोए वा अन्य कुनै यौनजन्य अस्वाभाविक व्यवहार गरे बालयौन दुरुपयोग’ हुने उल्लेख छ । लामिछानेविरुद्ध बालयौन दुरुपयोगको कसुर लागेर प्रमाणित भए तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिमाना हुन सक्छ ।
प्रतिक्रिया दिनुहोस