भैरहवा । सामूहिक विद्यालय परिवार रूपन्देहीले निजी विद्यालयको शिक्षा क्षेत्रमा काम गरेका शिक्षक, शिक्षिकालाई शिक्षा पुरस्कार प्रदान गरेको छ । बुधबार भैरहवामा एक कार्यक्रम गरि अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा पुरस्कार प्रदान गरेको हो ।
लामो समय एउटै विद्यालयमा शिक्षण गरेकी मनकामना बोर्डिङ स्कुलकी शिक्षिका सिर्जना क्षेत्री, सिबि पब्लिक हाइस्कुलका गोबिन्द थापा मगरलाई पुरस्कार दिइएको छ भने भैरहवा क्षेत्रमा सबैभन्दा पहिला निजी विद्यालय स्थापना गरेका लुम्बिनी शिशुसदन स्कुलका संस्थापक प्रिन्सिपल यमबहादुर रसायलीलाई सम्मान गरेको छ ।
कार्यक्रममा बोल्दै शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक यमबहादुर केसीले निजी विद्यालयले देशको पुँजी बाहिर जानबाट रोकेको दावी गरे । उनले शैक्षिक विकासमा निजी विद्यालयहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।
ओमसतिया गाउँपालिका शिक्षा शाखा प्रमुख हरि पोखरेलेले संस्थागत विद्यालय पनि सरकारकै अंग रहेको बताउँदै मुलुकमा निजी क्षेत्र सबै भन्दा अगाडि रहेको बताए । प्याब्सन रूपन्देहीका अध्यक्ष अनन्त शर्माले शिक्षा क्षेत्रमा रूपन्देही अब्बल रहेको बताउँदै अङ्ग्रेजी शिक्षाका लागि अन्यत्र जान नपर्ने बताए ।
वि.सं. २०५९ सालमा स्थापना भएको सामुहिक विद्यालय परिवारमा सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, ओमसतिया, रोहिणी र मायादेवी गाउँपालिका गरी १८ वटा विद्यालय आबद्ध छन् ।
प्रतिक्रिया दिनुहोस