
काठमाडौं । आत्महत्या गर्ने सोच आइरहेका व्यक्ति चिन्न सकिन्छ र उनीहरूलाई त्यो भयावह घटनावाट बचाउन सकिन्छ भन्ने विषय धेरैलाई थाहा छैन । यसकै कारण धेरैले अकालमै जीवन गुमाउनु परेको छ । तर मनोचिकित्सक तथा विज्ञहरूले कुनै पनि कारणले आत्महत्या गर्ने सोच आएका व्यक्तिलाई बचाउन सकिने बताएका छन् ।
आत्महत्या गर्ने व्यक्तिले कुनै न कुनै रूपमा यो सोच आएको विषयमा संकेत दिने र यो समयमा परिवार, साथीभाइको सानो सहयोगले कुनै पनि व्यक्तिलाई बचाउन सकिने विज्ञहरूको सुझाव छ । ‘हाम्रो समाजमा आत्महत्या गर्न खोज्ने व्यक्ति जसरी पनि गरेरै छोड्छन्, आत्महत्याको कुरा गर्ने व्यक्तिले त्यसो गर्दैन, आत्महत्या गर्ने व्यक्तिको कुनै संकेत हुँदैन भन्ने जस्ता भ्रमको कारण धेरैलाई बचाउन सकिँदैन,’ राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा नसर्ने रोग तथा मानसिक रोग शाखाका प्रमुख डा. फणिन्द्र बरालले बताए ।
आत्महत्या गर्न खोजेको व्यक्तिले आफन्त तथा साथीहरूसंग निराशावादी कुरा गर्ने,आत्महत्याको बारेमा कुनै कुरा गर्ने, मर्न मन छ जस्ता कुरा गर्न थालेका हुन्छन् । यी र यस्ता कुरा गरिरकेको व्यक्तिको सोच क्षणिक रूपमा आउने र त्यो बेलामा नजिक रहेका आफन्तले उनीहरको कुरामा गम्भीर भई सुन्ने र सोहीअनुसार व्यवहार गरेमा उनीहरूलाई रोक्न सकिन्छ ।
चिकित्सकका अनुसार पहिला आत्महत्याको प्रयास गरेका व्यक्तिहरू, उदासीनताको रोग भएका, लागूपदार्थ सेवन गरेका दुर्व्यसनीहरू, गम्भीर भावानात्मक कठिनाइ भएका व्यक्तिहरू जसले नजिकको आफन्त गुमाएको, सम्बन्ध विच्छेद गरेको, दीर्घकालीन रोगबाट ग्रसित, युद्ध, हिंसामा, सामाजिक बहिस्कारको अनुभव गरेका, निराशा महसुस गर्ने, एक्कासि धेरै दुःखी हुने र धेरै खुसी हुने, आफैंलाई हानि पुर्याउने व्यवहार गर्ने, बिषादी, हातहतियार, परिवार तथा इष्टमित्रलाई बिदाइ भेट गर्ने, आफ्नो सम्पत्ति बाँडिदिने, आफ्नो अन्तिम इच्छा लेख्ने, आत्महत्या गर्नुपूर्व आफ्नो व्यवहार मिलाउँदै जाने, लागूपदार्थको अत्यधिक सेवन गर्ने जस्ता लक्षण आत्महत्या गर्ने व्यक्तिका पहिचानका संकेतहरू हुन् ।
प्रतिक्रिया दिनुहोस