
काठमाडौं । बेलायती महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ । उनको बिहीबार बिहानैबाट स्वास्थ्य स्थितिमा समस्या आएपछि बालमोरल दरबारमा उपचार भइरहेको थियो ।
चिकित्सकको सुपरीवेक्षणको उपचारकै क्रममा स्कटल्यान्ड बालमोरल दरबारमा उनको बिहीबार निधन भएको हो । २१ अप्रिल १९२६ मा मेफेयर लन्डनमा जन्मिएका महारानी एलिजावेथ द्वितीयको निधनसँगै जेठा छोरा राजकुमार चाल्र्स राजा भएका छन् ।
पछिल्लो समय स्कटल्यान्डको बालमोरल दरबारमा बस्दै आएकी महारानीको चाहनाअनुसार दरबारमै चिकित्सकले उनको उपचार गरिरहेका थिए । उनी बेलायतमा सबभन्दा लामो समय, ७० वर्ष सात महिना अवधि शासन गर्ने महारानी हुन् । उनी सन् १९५२ मा महारानी बनेकी थिइन् । रानी एलेजावेथका चार्ल्ससहित चार सन्तान छन् ।
उनका श्रीमान राजकुमार फिलिपको सन् २०२१ अप्रिलमा निधन भएको थियो। फिलिप र एलिजवेथको सन् १९४७ मा विवाह भएको थियो । त्यसको पाँच वर्षपछि एलिजावेथ बेलायतकी महारानी बनेकी थिइन् । राजकुमार फिलिपको निधन भएको एक वर्ष नबित्दै महारानी एलिजावेथको निधन भएको हो ।
उनको सात दशकको शासनमा बेलायतमा १५ जना प्रधानमन्त्री भए। तीमध्ये सन् १८७४ मा जन्मेका विन्सटन चर्चिल पहिलो हुन् भने त्यसको १०१ वर्षपछि सन् १९७५ मा जन्मेका लिज ट्रसलाई एलिजावेथले गत साता मात्र प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । उनले आफ्नो शासनकालभरि हरेक साता प्रधानमन्त्रीसँग भेट गरिन् ।
एलिजावेथ त्यो समय बेलायतकी महारानी बनेकी थिइन्, जब विश्वभरि बेलायतको प्रभाव घट्दै थियो । भारत लगायत मुलुकहरूको शासनबाट ऊ पछाडि हट्दै थियो । संसारभरि नै समाजमा क्रान्तिकारी परिवर्तन आउँदै थियो भने बेलायतमै पनि धेरैले राजतन्त्रमाथि प्रश्न खडा गरिरहेका थिए । महारानीका रूपमा एलिजावेथले ती सबै चुनौती डटेर सामना गरिन् । उनले कठिन समयमा पनि आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिन् र बेलायती राजपरिवारप्रति जनताको विश्वास कायम राखिन् ।
एलिजावेथ कुनै दिन बेलायतकी महारानी बन्लिन् भन्ने कसैले सोचेका थिएनन् । उनको जन्म सन् १९२६ अप्रिल २१ का दिन बर्कलेमा भएको थियो । उनी त्यति बेलाका राजा जर्ज पाँचौंका दोस्रो छोरा ‘ड्युक अफ यार्क’ अल्बर्टकी जेठी छोरी हुन् ।
सन् १९३६ मा तत्कालीन बेलायती राजा जर्ज पाँचौंको निधनपछि उनको जेठो छोरा डेविडले एडवर्ड आठौंका रूपमा गद्दी सम्हालेका थिए । तर एडवर्डले दुईचोटि सम्बन्ध विच्छेद गरिसकेकी अमेरिकी महिला वैलिस सिम्पसनसँग विवाह गरेपछि बेलायतमा उनको तीव्र विरोध भयो । यही विरोधका कारण एडवर्ड आठौंले गद्दी त्याग गरे ।
प्रतिक्रिया दिनुहोस