
काठमाडौं । यस वर्षको शरद ऋतुमा विभिन्न सातवटा हिमाल आरोहणका लागि ५० मुलुकका ३६४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार भदौ ८ गतेदेखि हिमाल आरोहण खुला गरिएको हो । शरद ऋतुका लागि हालसम्म सगरमाथा, धवलागिरि, हिमलुङ, मनास्लु, नुप्से, कुम्भकर्ण र सरिबुङका लागि आरोहण अनुमति जारी गरिएको छ ।
विभागको तथ्याङ्कअनुसार बुधबारसम्म ३६ समूहका आरोहीले अनुमति पाएका छन् । अनुमति पाउनेमा २७८ पुरुष र ८६ जना महिला आरोही रहेका छन् । आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमेरिकी नागरिक छन् । विभागका अनुसार ३५ जना पुरुष र १२ जना महिला गरी कुल ४७ जना अमेरिकी आरोहीले अनुमति लिइसकेका छन् ।
त्यसैगरी धेरै अनुमति लिनेमा भारतबाट २७, इरानबाट २२, स्पेनबाट २०, अर्जेन्टिना १७, फ्रान्सबाट १७, रसियाबाट १५, बेलायतबाट १४, चीनबाट १२, इटालीबाट १२, जर्मनीबाट १२, यूएईबाट १०, पोल्यान्डबाट १०, मेक्सिकोबाट १० जना रहेका छन् । यस सिजनमा आरोहण अनुमतिबापत सरकारलाई चार करोड ३३ लाख १२ हजार ७२३ रुपियाँ राजस्व प्राप्त भएको छ ।
विभागको पर्यटन शाखा अधिकृत विज्ञान कोइरालाले कोरोना सङ्क्रमणपछि आरोहणतर्फ पर्यटकको चासो बढेको बताउँदै यो वर्षको शरद ऋतुमा हिमाली पर्यटनमा राम्रो आर्कषण देखिएको उल्लेख गरे । पछिल्लो समय आरोहणको अनुमति लिनेको सङ्ख्याको आधारमा यो सिजनमा अघिल्लो सिजनमा भन्दा बढी पर्यटक हिमाल चढ्ने अनुमान गरिएको छ ।
उहाँले भन्नुभयो, “हिमाल आरोहणको अनुमति लिने आरोहीको पछिल्लो तथ्याङ्कले थलिएको पर्यटन क्षेत्रलाई राहत पुग्ने सङ्केत दिएको छ । आरोहीहरू आरोहण नभएका हिमालतर्फ पनि बढी आकर्षित हुन थालेका छन् ।”
प्रतिक्रिया दिनुहोस