aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

रातभरि परेको पानीले बगायो दर्जनौं घर

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शनिबार, २५ भदौ २०७९
रातभरि परेको पानीले बगायो दर्जनौं घर

काठमाडौं । शुक्रवार रातीदेखिको अविरल वर्षाका कारण दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ । स्थानीय एवं उद्योग वाणिज्य सङ्घ दार्चुलाका पूर्व अध्यक्ष मङ्गल ठगुन्नाका अनुसार करिब डेढ दर्जन घरहरू बगेका छन् । लास्कु खोलाको बिचमा फसेका एक जना पुरुषको सुरक्षाकर्मीले उद्धार गरेका छन् । मानिसहरू सबै राती देखिनै घरबाहिर निस्किएका छन् ।

बाढीले केही घर र पुल बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए । उद्धार कार्य जारी रहेकोले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको उनले बताए । रोकेर राखिएका केही यातायातका साधनसमेत बगाएको स्थानीय चक्र बमले बताए । घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।
बाढीले लास्कु खोला र महाकाली नदीमा ठूलो बाढी आएको छ । नदीले कटान गर्ने क्रम नरोकिएकोले सतर्कता अपनाउन स्थानीय सबैमा अनुरोध गरिएको छ । स्थानीय शिक्षक प्रवेश प्रताप ऐतवालका अनुसार अविरल वर्षाले बंगाबगडको दशरथ नगर स्कुलसंगै जोडिएका रोड तल तिरका सबै घर बाढीले बगाएको छ । कटान अझै जारी रहेकोले बाङगाबगड क्षेत्र तनावग्रस्त रहेको उनले बताए ।  

प्रतिक्रिया दिनुहोस