काठमाडौं । यातायात व्यवस्था विभागले चाडपर्व नजिकिएसँगै असोज १ गते शनिबारदेखि सार्वजनि यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ । विभागले चाडपर्वलाई लक्षित गरी यातायात व्यवस्थापनमा सहजता ल्याउनका लागि लामो र छोटो दुरीका सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने भएको हो ।
दशैतिहार जस्ता ठुला चाडपर्वमा सार्वजनिक यातायातको भाडा नबढ्ने यातायात व्यवस्था विभागका सुचना अधिकारी इश्वरीदत्त पनेरुले जानकारी दिए । उनले भने, ‘स्वचालित मूल्य प्रणाली अनुसार नै सार्वजनिक यातायातको भाडा निर्धारण हुन्छ । तत्काल भाडा बढ्दैन । यात्रुहरुको चाप अनुसार गाडीको व्यवस्थापन हुन्छ ।’
विभागले यात्रुहरुका लागि अनलाइनबाट टिकट बुकिङ गर्ने व्यवस्था मिलाउने र अनलाइनबाट टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीहरुले सहुलियत समेत प्रदान गर्ने निर्णय गरेको छ ।
यायायात व्यवस्थापन महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पनि दशैतिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने बताए । उनले आर्थिक न्युजसँग भने, ‘दशैतिहारको मुखमा कहिल्यै पनि भाडाको बार्गेनिङ हुँदैन । स्वचालित मुल्य प्रणाली अनुसार नै सार्वजनिक यातायातको भाडा कायम हुन्छ ।’
‘पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो भने भाडा समायोजन हुन्छ । हाम्रो आग्रह पनि छ । दशैको मुखमा पेट्रोलियम मूल्य बढाउनु भएन । जनतालाई मार्ने काम गर्नुहुँदैन’, उनले थपे ।
यसका साथै उनले चाडपर्वमा विशेषत सडक पूर्वाधारलाई प्राथमितकामा राख्नुपर्ने बताएका छन् । उनले भने, ‘अहिले वर्षाको समय छ । सडकलाई प्राथमिकता दिनुपर्छ । सडकमा भएका खाल्डाखुल्डीलाई पुर्न विशेष जोड दिनुपर्ने कुरा पनि हामीले राखेका छौं । सम्बन्धीत निकाय र सरोकारवालाहरुसँग पनि छलफल गरेर सडकको निर्माण र मर्मत लाई ध्यान दिनुपर्छ ।’
वर्षातको समयमा लामो दुरीका सडकहरु बिग्रिने र भत्किने गर्दा यात्रुहरुलाई सास्ती हुने गरेको छ । धेरै सडकहरु बिग्रिएका कारण सवारी साधनहरु राम्रोसँग चल्न सकेका छैनन् ।
सरकारले सडक निर्माण र मर्मततर्फ ध्यान दिनुपर्ने सिटौलाको भनाई छ । ‘दशैंको मुखमा यात्रुहरूको चाप पर्ने र भिडभाडसँगै सम्भावित जोखिमलाई कम सम्बन्धीत निकाय र सरकारले विशेष ध्यान दिनुपर्छ’, उनले भने ।
साथै उनले यात्रुको चापको अवस्थालाई हुेरे थप गाडीको व्यवस्था गरिने बताए । उनले भने, ‘घटस्थापनाका दिनदेअि पुर्णिमाको दिनसम्म सबै गाडीको परमिट खुला गर्ने निर्णय गरेका छौं । यात्रुको चापको अवस्थालाई हेरेर थप गाडीको व्यवस्थापन हुन्छ ।’
सिटौलाका अनुसार यातायात आवागमनमा सहज ल्याउनका लागि असोज १५ गतेदेखि विभिन्न नाकाबाट मालवाहक सवारी साधनहरुमा पनि रोक लगाइएको छ
यातायात व्यवसायी राष्ट्रिय महांघका अध्यक्ष विजय बहादुर स्वाँरले पनि यात्रुका चाप अनुसार थप गाडीको व्यवस्थापन हुने बताए । उनले भने, ‘असोज १ गते विश्वकर्मा पुजा गरेर अग्रिम टिकट खुला गर्न लागिएको छ । यात्रुको चाप अनुसार थप गाडीको व्यवस्थापन हुन्छ ।’
।
प्रतिक्रिया दिनुहोस