aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

‘सरकारलाई आवश्यकता अनुसारको सिटामोल दिन तयार छौं’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ भदौ २०७९
‘सरकारलाई आवश्यकता अनुसारको सिटामोल दिन तयार छौं’

काठमाडौं । केही दिनदेखि बजारमा पारा सिटामोलको अभाव हुन थालेको छ । डेङ्गु ज्वरोको सङ्क्रमण बढेसँगै नेपालका विभिन्न स्थानमा पारा सिटामोलको अभाव देखिएको सर्वसाधारणहरूले गुनासो गर्न थालेका हुन् ।  

बजारमा सिटामोलको अभाव रहेको सर्वसाधारण गुनासो भएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल औषधि उत्पादक सङ्घले भने बजारमा सिटामोलको अभाव नभएको जनाएका छन् । 

नेपाल औषधि लिमिटेडका प्रबन्ध निर्देशक मोहम्मद सफिउल्लाहले पनि बजारमा सिटामोलको अभाव नरहेको बताउँछन् । उनी भन्छन्, ‘पछिल्लो केहि दिन यता ज्वरोका बिरामी बढेका छन् । जसले गर्दा पारा सिटामोलको माग बढेको छ । तर, हामीसँग औषधि पर्याप्त छ । माग अनुसारको औषधि दिन सक्छौं ।’

औषधि उत्पादनका लागि सरकारको सहयोग नभएको उनको गुनासो छ । उनले भने, सरकारलाई आवश्यकता अनुसारको सिटामोल दिन तयार छौं । तर, आर्थिक अभाव झेलिरहेको संस्थालाई सहयोग गर्न सरकारलाई बारम्बार आग्रह गर्दा पनि कुनै सहयोग भएन । क्षमताले भ्याएसम्म हामी औषधि उत्पादन गर्न तयार छौ.।’ 

‘सरकारले औषधि उत्पादनमा आर्थिक सहयोग गरिदिए बजारको माग अनुसार औषधि उत्पादन गर्न सक्छौं । अहिलेसम्म घाटा खाएर भएपनि औषधिको अभाव हुन दिएका छैनौं । सरकारले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रलाई वेवास्ता गरिदिँदा अहिले यो अवस्था आएको हो’, उनले थपे । 

डेङ्गुको सङ्क्रमण बढ्न थालेपछि सिटामोल औषधि बनाउनका लागि कच्चा पदार्थ आयात गर्न थालेको नेपाल औषधि लिमिटेडले जनाएको । लिमिटेडका अनुसार हप्ता दिनभित्रमा कच्चा पदार्थ आउने र त्यसपछि सिटामोल औषधि उत्पादन गर्ने भएको । लिमिटेडले करिब ५० लाख ट्याबलेट सिटामोल उत्पादन गर्नका लागि कच्चा पदार्थ ल्याउन थालिएको जनाएको ।  अहिले औषधि लिमिटेडसँग करिब १५ लाख ट्याबलेट मौज्दात रहेको छ । 

सामान्य ज्वरो आउँदा औषधि पसलमा सिटामोल किन्न जाँदा भने सर्वसाधारणले पाइरहेका छैनन् । उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ पूरै दुख्ने, वान्ता हुने, खानमन नलाग्ने, पाखाला लाग्ने, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण हुन् । ती लक्षणका लागि बिरामीलाई सिटामोल र जीवनजलजस्ता औषधिको खानुपर्ने हुन्छ  । तर, बजारमा सिटामोल जस्तो औषधिको पनि अभाव भइरहेको छ । 

काठमाडौँ उपत्यका लगायत देशका अन्य जिल्लामा दैनिक डेङ्गुका बिरामी बढिरहेका छन् । अहिलेसम्म छ हजारभन्दा बढी डेङ्गुका बिरामी पुष्टि भइसकेको मन्त्रालयले जनाएको छ  । डेङ्गुका प्रकोप बढ्न थालेपछि सर्वसाधारणले पनि घरमा सिटामोल किनेर राख्ने गरेका छन् । यसले पनि सिटामोलको अभाव भएको मन्त्रालयको भनाई छ । 
 

प्रतिक्रिया दिनुहोस