aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

मिटर व्याजीपीडितमाथि प्रहरीको दमन, लाट्ठी प्रहारबाट दर्जनौं घाइते

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • मंगलबार, २८ भदौ २०७९
मिटर व्याजीपीडितमाथि प्रहरीको दमन, लाट्ठी प्रहारबाट दर्जनौं घाइते

काठमाडौं । टाउकाबाट रगत बगिरहेको थियो तर नारा लगाउन छाडेका थिएनन् । ‘न्यायका लागि मर्न तयार छौं, न्याय नपाउन्जेल लडिरहन्छौं,’ मिटरब्याजी सुदखोरविरुद्ध किसान–मजदुर संघर्ष समितिका उपाध्यक्ष कुलप्रसाद थापामगर घाइते अवस्थामा पनि प्रहरीसँग झोक्किँदै नारा लगाउँदै थिए । अरू पीडितहरू पनि ‘शान्तिपूर्ण विरोधमा अवरोध गरेको’ भन्दै आक्रोशित भइरहेका थिए ।

तराईका विभिन्न जिल्लाबाट काठमाडौं आएर पीडितले साउन दोस्रो सातादेखि नै मिटरब्याजी सुदखोरविरुद्ध शान्तिपूर्ण रूपमा धर्ना दिइरहेका छन् । उनीहरू दिनभर माइतीघरमा धर्ना दिन्छन् र साँझ परेपछि कीर्तिपुरको सल्यानथानमा बनाइएका अस्थायी टहरामा पुगेर रात कटाउँछन् । महिनौंदेखि शान्तिपूर्ण आन्दोलन गरिरहेका पीडितको मागलाई सम्बोधन गर्नुको सट्टा सरकारले सोमबार कीर्तिपुरै पुगेर दमन गर्‍यो ।

कीर्तिपुरबाट हरेक दिन प्लेकार्डसहित प्रदर्शन गर्दै माइतीघर आउने गरेका उनीहरूलाई प्रहरीले कीर्तिपुरमै रोक्ने प्रयास गरेको थियो । चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको सवारीलाई कारण देखाउँदै धर्नाका लागि माइतीघर आउन लागेका किसानलाई निषेध गरिएको थियो ।

प्रहरीले सबेरैदेखि पीडितहरूको टहरामा घेरा हालेको थियो । ‘हामी उठ्न नपाउँदै प्रहरी आइसकेका थिए, पछि हामी दिनहुँजस्तै माइतीघर जाने तयारीमा लाग्यौं तर प्रहरीले अत्याचार गर्‍यो, निर्मम रूपमा लाठीचार्ज गर्‍यो,’ पीडित टीकाप्रसाद दमाईंले भने । लाठीचार्जबाट समितिका उपाध्यक्ष कुलप्रसाद थापामगर, सदस्यहरू कौशिलादेवी केवट र दिवस गौतमलगायत घाइते भएका छन् ।

प्रहरी अवरोधकै बीच पीडितहरू विभिन्न नारासहितका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए । समिति अध्यक्ष रामसुरत गुप्तासहित १२ जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त कीर्तिपुर राखेको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । पीडितले भने ४६ जना पक्राउ परेको बताएका छन् ।

गाउँबाट खाली हात काठमाडौं आएका ७० जना किसान ४३ दिनदेखि कीर्तिपुरको सल्यानथानमा बसिरहेका छन् । त्यसअघि उनीहरू गौशालामा अस्थायी टहरा बनाएर बसेका थिए । अहिले सल्यानथानमा उनीहरूका लागि बाँस र प्लास्टिकको टहरा बनाइएको छ । सहयोगी दाताहरूले दिएको दुई पैसा र अन्नले उनीहरूको छाक टरेको छ । त्यसैको आडमा उनीहरू निरन्तर संघर्ष गरिरहेका छन् । ‘मागेरै भए पनि खाना र पानीको जोहो गरेका छौं, न्याय नपाउन्जेल काठमाडौं छोड्दैनौं,’ पीडित संघर्ष समितिका अध्यक्ष रामसुरत गुप्ताले भने, ‘उताबाट साहुले पेलेका छन्, यताबाट सरकारले ठेल्दै छ तर हामी शान्तिपूर्ण आन्दोलन छोड्दैनौं । हाम्रो समस्या समाधान नभएसम्म आन्दोलन जारी राख्छौं ।’ उनले सीमित मिटरब्याज पीडितबाट सुरु भएको आन्दोलनमा हजारौं पीडित किसान जोडिएको बताए ।

प्रतिक्रिया दिनुहोस