aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

डेंगुको सर्वसुलभ उपचारका लागि एभरेस्ट अस्पतालले थाल्यो पहल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ भदौ २०७९
डेंगुको सर्वसुलभ उपचारका लागि एभरेस्ट अस्पतालले थाल्यो पहल

काठमाडौं। डेंगु महामारीमा सर्वसुलभ उपचारका लागि एभरेस्ट अस्पतालले पहल थालेको छ । महामारीको समय मध्यम तथा न्यून आय भएका मानिसलाई सहयोग पुर्‍याउने लक्ष्यसहित नयाँ बानेश्वरस्थित एभरेस्ट अस्पतालले जनरल वार्ड सञ्चालनमा ल्याएको हो । 

यस वार्डमा विशेषज्ञ डाक्टरसहितका स्वास्थ्यकर्मी चौबिसै घण्टा बिरामीको सेवामा खटिरहेका छन्। अस्पतालका निर्देशक तथा प्रशासकीय प्रमुख दीपकचन्द्र बरालले सर्वसाधारणलाई उपचारमा आर्थिक समस्या नहोस् भनेर जनरल वार्ड सञ्चालनमा ल्याएको जानकारी दिए । ‘यहाँ अति न्यून शुल्कमा बिरामी भर्ना हुन सक्छन्। आर्थिक अवस्था कमजोर भएकालाई उपचारमा थप सहुलियत तथा अति विपन्नलाई निःशुल्क उपचार पनि गर्छौँ । उपचार नपाएर कोही मर्नु हुँदैन भन्ने हाम्रो मान्यता हो’, उनले भने । 

एभरेस्ट अस्पतालमा डा. नीरज नेपाल, डा. निमेष पौडेल, डा. सरोज गौडेल, डा. रामनारायण शाह, डा. प्रताप नारायण शाहले, अदिप श्रेष्ठलगायत वरिष्ठ चिकित्सक तथा स्वास्थ्यकर्मी सम्मिलित मेडिकल टिमले डेंगुको उपचार गरिरहेको छ। एभरेस्ट अस्पतालमा परीक्षणका लागि आएकामध्ये ६० प्रतिशतभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको निर्देशक बरालले बताए।

‘हाम्रोमा यस महिना भदौ १ गतेदेखि अहिलेसम्म १ हजार ६० जना डेंगु परीक्षणका लागि आएकोमा ८ सय २३ जनामा सङ्क्रमण देखिएको छ’, उनले भने, ‘डेंगु प्रकोपकै रूपमा देखिएकाले सर्वसाधारणलाई धेरैभन्दा धेरै सुविधा कसरी प्रदान गर्न सकिन्छ भन्नेमा हाम्रो ध्यान केन्द्रित छ।’ यसअघि कोभिडको समयमा पनि अस्पतालले बिरामीहरूलाई यसरी नै सर्वसुलभ सेवा उपलब्ध गराएको थियो । 

प्रतिक्रिया दिनुहोस