काठमाडौं । सहुलियत ब्याजदरको उच्च तथा प्राविधिक व्यावसायिक शिक्षा कर्जा ६० जनाले प्राप्त गरेका छन । गत असारसम्म वाणिज्य बैंकहरूले यो शिर्षकमा लगानी गरेको कर्जा हो ।
उक्त अवधिमा वाणिज्य बैंकहरूले ५९ र विकास बैंकले एक जना गरी ६० जनाले उक्त कर्जा पाएका छन् । ती ऋणीका लागि १ करोड ७३ लाख ६६ हजार रुपैयाँ बराबरको कर्जा स्वीकृत भएको छ । स्वीकृत कर्जामध्ये १ करोड ४४ लाख ९० हजार रुपैयाँ प्रवाह भइरहेको राष्ट्र बैंकको तथ्यांक छ ।
असारसम्म स्वीकृत कर्जामध्ये १ करोड ६८ लाख ६६ हजार रुपैयाँ वाणिज्य बैंकहरूको मात्र छ । विकास बैंकहरूबाट ५ लाख रुपैयाँको एउटा कर्जा मात्र स्वीकृत भएको छ । फाइनान्स कम्पनीले यो शिर्षकमा कर्जा प्रवाह नै गरेका छैनन् ।
सरकारले गत आर्थिक वर्षदेखि शिक्षामा पनि सहुलियत ब्याजदरको ऋण कार्यक्रम ल्याएको हो । ‘उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा’ नामक उक्त कार्यक्रममा अपेक्षित रूपमा कर्जा प्रवाह नभए पनि बिस्तारै बढ्न थालेको सरोकारवाला बताउँछन् ।
यो कर्जा कार्यक्रमअन्तर्गत ऋणीले प्रतिव्यक्ति ५ लाख रुपैयाँसम्म ऋण पाउने व्यवस्था छ । ब्याज अनुदान दिइने कर्जाको भुक्तानी अवधि बढीमा ५ वर्षको छ । कर्जाको अवधि व्यवसायको प्रकृतिअनुसार बैंक तथा वित्तीय संस्थाले तोक्न सक्ने छुट सरकारले दिएको छ । कार्यविधि ब्याज अनुदान उपलब्ध गराउने कर्जामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दर (बेस रेट) मा अधिकतम दुई प्रतिशत जोडेर ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था छ ।
‘उच्च र प्राविधिक तथा व्यावसायिक तथा व्यावसायिक शिक्षा कर्जा’ माध्यामिक शिक्षा वा सो सरह उतिर्ण गरी २५ वर्ष उमेर नाघेको नेपालीलाई प्रवाह गरिने कर्जा हो । यस्तो कर्जा प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाले सहुलियत दरको शिक्षा कर्जाका लागि आर्थिक रुपमा विपन्न, सिमान्तकृत समुदाय वा लक्षित वर्गको विद्यार्थी हुनुपर्नेछ । यस्तो कर्जाका लागि विद्यार्थीले स्वदेशकै कलेज वा विश्वविद्यालयमा अध्ययन गरेको वा गर्ने हुनुपर्नेछ । यसको अर्थ विदेशी कलेज तथा विश्वविद्यालयमा अध्ययन गर्ने व्यक्तिले सहुलियत दरको कर्जा पाउदैनन् ।
‘उच्च र प्राविधिक र व्यावसायिक शिक्षा कर्जाको हकमा आर्थिक रूपमा विपन्न, सीमान्तकृत समुदाय वा लक्षित वर्गको विद्यार्थी भएको सिफारिस र अध्ययन गर्ने शैक्षिक संस्था/प्रतिष्ठानमा भर्ना भएको वा हुन योग्य रहेको खुल्ने कागजातको प्रतिलिपि हुनुपर्नेछ,’ सहुलियत ब्याजदरको कर्जासम्बन्धी कार्यविधिमा उल्लेख छ ।
यसअघि ग्राहकले नेपाल सरकारले ब्याज अनुदान प्रदान गर्ने प्रकृतिका अन्य कुनै पनि कर्जा सुविधा लिएको हुन नपर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ
प्रतिक्रिया दिनुहोस