
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १९ ठाउँका बेसमेन्ट तथा जमिन तलाको व्यावसायिक प्रयोजन हटाएर पार्किङका लागि खाली गराएको छ । नक्सा स्वीकृत गर्दा पार्किङ र भण्डार कक्ष देखाएर सुविधा लिएका र निर्माणपछि व्यावसायिक लाभमा प्रयोग भएका संस्थागत तथा व्यक्तिगत भवनका भूमिगत तथा जमिन तला खाली गराएको हो । यसै गरी २० ठाउँका मापदण्ड विपरीत निर्माण गरिएका अनधिकृत संरचनाहरू, ओभरल्यापिङ् र सेडव्याक हटाएको छ ।
‘पार्किङ प्रयोजनका लागि निर्माण भएका संरचनाहरूमा पार्किङ नै गराउनु पर्छ । यसअघि आफूसँग भएको कार्यकारिणी अधिकार प्रयोग नगर्दा अहिलेको भयावह अवस्था आएको हो । यसलाई बेवास्ता गर्नु भनेको सहरलाई थप बिगार्नु हो । यसो भयो भने हाम्रा पुस्ताले हामीलाई राम्रो मान्दैनन् ।’ काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) कारवाहीका विषयमा भन्छन्, ‘नक्सा स्वीकृत गर्ने बेलामा व्यक्ति तथा संस्थाले महानगरबाट सुविधा लिएको तर, आफूले महानगरसँग गरेको कबुलियत तथा सर्त पूरा नगरेकाले कारबाही गर्नुपरेको हो ।’
महानगरले ३९ ठाउँमा मापदण्ड विपरीतका संरचनामाथि कारवाही गरेर पार्किङका लागि प्रयोग गर्न लगाएसँगै काठमाडौंका मुख्य क्षेत्रहरुमा पार्किङ सहज हुन थालेको छ भने सडकमा जाम समेत कम हुने गरेको छ ।
वेसमेन्ट तथा जमिन तलालाई पार्किङका रूपमा खाली गराइएका ठाउँहरूमध्ये वडा नं १ दरबारमार्ग २ वटा भवन छन् । यिनीहरू नेपाल ट्रस्ट र दरबार मलको भूमिगत तला हुन् । वडा नं १४ कलङ्कीमा रहेको स्मार्ट तारा हाउसको भूमिगत तलामा रहेको कपडा पसल र एभरेस्ट गेस्ट हाउसको भूमिगत तलामा रहेको खाजा घर हटाउने काम भएको छ ।
प्रतिक्रिया दिनुहोस