काठमाडौं । काठमाडौं महानगरपाललिकाले सार्वजनिक स्थलहरुमा धुम्रपान तथा सुर्ती सेवनमा प्रतिवन्ध लगाएको छ । बुधबार काठमाडौं महानगरले सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्ती सेवन गर्न निषेध गर्ने निर्णय गरेको हो । महानगरपालिकाले आफ्नो ११ औं नगर अधिवेशनबाट सार्वजनिक स्थलमा धुम्रपान गर्न निषेध गर्ने कानुनी व्यवस्थालाई प्रभावकरी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
विस २०७९ आश्विन १ गतेबाट सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नसा लिने वा सेवन गर्ने कार्य निषेध गरिएको छ।
नियम उल्लङ्घन गरेमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन.२०६८ समेतका आधारमा कानुन उल्लङ्घन गर्ने व्यक्तिलाई सार्वजनिक स्थलबाट नै कारबाही गर्ने भएको छ । काठमाडौं महानगरपालिकालाई धुम्रपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउनको लागि जारी भएको सूचनाको पालना गरि अटेरी गर्नेलाई कारबाही र जरिवाना तिराइने समेत सूचनामा उल्लेख छ।
महानगरपालिकाले सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन, २०६८ को दफा ४ मा दफा ५ मा उल्लेख भएको कानुनी व्यवस्थालाई आधार बनाएर सार्वजनिक निकायमा धुम्रपान तथा सूर्ति सेवन निषेधित बनाउने व्यवस्था छ।
प्रतिक्रिया दिनुहोस