काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) ले देशको आर्थिक अवस्था जटिल र गम्भीर रहेको बताएका छन् । बिहिवार नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका उनले शिक्षा र अन्य क्षेत्रमा प्रगति गर्न सकेपनि मुलुक आर्थिक विकासमा अघि बढ्न नसकेको बताए । उनले भने, ‘मुलुकले शिक्षा र अन्य क्षेत्रमा प्रगति गर्न सकेपनि आर्थिक क्षेत्रमा भने अघि बढ्न सकेन । आयात प्रतिस्थापनमा आर्थिक क्षेत्रमा प्रगति हुनुपर्छ भनेपनि अपेक्षाकृत रुपमा प्रगति हुन सकेन । खाद्यान्न आयातमा बाह्य देशमा नै निर्भर रहनु परेको अवस्था छ ।’
साथै उनले देश विकासको गति अगाडी बढ्न नसक्नुमा राजनितिक अस्थिरता रहेको स्वीकारे । अध्यक्ष प्रचण्डले भने, ‘देशको राजनिति अस्थिरताले मुलुकको विकास हुन सकेन । जबसम्म देशमा राजनितिक स्थिरता हुँदैन तबसम्म जतिसुकै स्रोत र साधन भएपनि विकास हुन सक्दैन । राजनितिक स्थायित्वले नै आर्थिक विकासलाई अघि बढाउन सकिन्छ ।’
कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भ्रष्टाचारमा व्यक्तिको मात्र दोष नभई प्रणालीमा नै खोट रहेको बताए । उनले भने, ‘भ्रष्टाचारमा व्यक्तिको मात्र दोष छैन । प्रणालीमा नै खोट छ । अब भ्रष्टाचार र सुशासनलाई नियमन गर्न भ्रष्टाचार गर्नेलाई ठाँउ नदिने प्रणाली ल्याउनुपर्छ ।’
त्यस्तै कार्यक्रममा विशेष अतिथिको रुपमा रहेका राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले नेपालले निर्यात व्यापारमा प्रगति गर्न नसकेको बताए । उनले भने, ‘देशको आर्थिक विकास नभएसम्म हामी आत्मबलका साथ अघि बढ्न सक्दैनौ । व्यापार घाटा चुलिदो छ । गुन्द्रुकदेखि जनै समेत चीनबाट आयात गर्नुपर्ने अवस्था छ । उत्पादनमुलक क्षेत्रमा हामीले गरेको प्रयत्न कहाँ गयो ?’
व्यापारीले होलसेल र होलसेलवालाहरूले भन्सारलाई देखाएर मुल्य बढाउने गरेको उनको आरोप छ । उनले भने, ‘व्यापारीहरुले एकले अर्कोलाई दोषरोपण गर्दै वस्तुको मुल्य बढाइरहेका छन् । सरकारको कान बहिरो भएजस्तो लाग्दैछ । भन्सार लगायत अन्य क्षेत्रबाट उठेको राजस्व सही ठाउँमा प्रयोग भएन भने देशले श्राद्ध गर्ने ठाउँ समेत पाउँदैन ।’
साथै उनले सेवा गर्ने निकाय नै कमाउनतिर लागेको बताए । यससँगै उनले साना व्यवसायीलाई प्रोत्साहित र मद्दत गर्न सके उत्पादन मुलक क्षेत्रमा सुधार आउने बताए ।
महासंघका अध्यक्ष श्याम बहादुर पाठकले मुलुकको आर्थिक अवस्था चिन्ताजनक रहेको बताए । कार्यक्रममा बोल्दै उनले भने, ‘मुलुकको आर्थिक अवस्था चिन्ताजनक छ । व्यापार घाटा बढ्दो छ । शोधनान्तर स्थिति घाटामा छ । भएका स्रोत र साधनको समुचित रूपमा प्रयोग गर्न नसक्नु राज्यको कमजोरी हो ।’
त्यस्तै उद्योग श्रेत्रमा राज्यशक्ती उदासिन देखिएको उनको भनाई छ । उनले भने, ’पुँजीगत खर्च गर्न नसक्नु भनेको आर्थिक विकासको चौतर्फी क्षेत्रमा नकारात्मक अवस्था सिर्जना हुनु हो । कृषि, पर्यटन र जलविद्युत क्षेत्रमा ठुलो सम्भावना भएको देश जलविद्युत क्षेत्रमा केही प्रगति देखिएन पनि खाद्यान्नको ठुलो हिस्सा बाह्य देशमा नै निर्भर रहनुपरेको अवस्था छ । ’
महासंघका उपाध्यक्ष खिमलाल भण्डारीले नेपालका उद्योगी र व्यवसायी रुग्ण स्थितिमा पुगेको बताए । कार्यक्रममा बोल्दै उनले भने, ‘उत्पादन मुलक स्थिति अमुर्त छ । सबै उद्योगी र व्यवसायीहरु नीतिगत रूपमा उत्पादन मुलक क्षेत्रमा लाग्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस